खेलकुद

कलेजस्तरीय फुटबलको उपाधि डिग्निटीलाई

बागलुङ। स्वतन्त्र विद्यार्थी युनियन धौलागिरि बहुमुखी क्याम्पस बागलुङद्वारा आयोजित कलेजस्तरीय फुटबल प्रतियोगिताको उपाधि डिग्नीटी कलेज बागलुङले जितेको छ ।

शुक्रबार क्याम्पसकै फुटबल मैदानमा भएको फाइनल खेलमा फ्यूचर ब्राइटर माविलाई १–० को गोल अन्तरले पराजित गर्दै डिग्निटी विजेता बन्न सफल भएको हो । प्रतियोगितामा सहभागी १२ टोलीलाई पछाडि पार्दै विजेता बनेको डिग्निटीले उपाधिसँगै रु एक लाख पुरस्कार हात पारेको छ ।

यस्तै उपविजेतामा चित्त बुझाएको फ्यूचरले रु ५० हजार पुरस्कारसहित ट्रफी प्राप्त गरेको छ । स्ववियू निर्वाचनको एक वर्ष पुगेको अवसरमा राखिएको प्रतियोगितामा साविकको धौलागिरि अञ्चलका १२ कलेजले सहभागिता जनाएको स्ववियू सभापति मनिष थापाले बताए । वार्षिकोत्सवका अवसरमा प्रदेश नं ४ का क्याम्पसका स्ववियू सभापतिको भेलालगायत कार्यक्रम आयोजना गरिएको थियो ।