आर्थिक

आर्थिक विधेयक दर्ता हुन सकेन

जनकपुरधाम । प्रदेश नं २ को प्रदेशसभामा प्राविधिक त्रुटिका कारण आज आर्थिक विधेयक दर्ता हुन सकेन । मुख्यमन्त्री लालबाबु राउतले विधेयक दर्ता प्रक्रियामा भएको त्रुटि सुधार गरी विधेयक दर्ता गराइने जानकारी दिए । प्रदेशसभाको पहिलो अधिवेशनअन्तर्गत आज बसेको सातौंँ बैठकमा सभामुख सरोजकुमार यादवले प्रदेश प्रमुखको कार्यालयबाट प्राप्त मन्त्रिपरिषद् विस्तारसम्बन्धी पत्र सुनाएपछि बैठक स्थगन भएको थियो । प्रदेशसभाको अर्को बैठक यही फागुन २७ गते अपराह्न १ बजे बस्नेछ ।

जग्गा अधिग्रहण विवाद
छ लेन सडक निर्माणअन्तर्गत जनकपुर विमानस्थलको वरिपरिका जग्गा मुआब्जा विवादले निर्माण रोकिएको छ । जटहीदेखि जनकपुरसम्मको निर्माणाधीन १५ किमी सडकको प्रदेश नं २ का भौतिक पूर्वाधारमन्त्री जितेन्द्रप्रसाद सोनारले स्थलगत निरीक्षण गर्दै जग्गा अधिग्रहणको विवाद यथाशीघ्र समाधान गर्न आग्रह गर्दै विकासमा अवरोधले जनकपुरधामको समृद्धि अभियानमा प्रतिकूलता आउन सक्ने बताए ।

आयोजना प्रमुख दीपेन्द्र पाण्डेले १५ किमीमध्ये एक किमीमा जग्गा अधिग्रहणको विवाद अधिक रहेकाले हालसम्म २० प्रतिशत काम हुन सकेको जानकारी दिँदै विमानस्थल वरिपरिका बासिन्दाले सो क्षेत्रमा छ लेन सडकको आवश्यकता छैन भन्दै सडकको मापदण्ड घटाउन दवाव दिइरहेको बताए ।