अन्तर्राष्ट्रिय

अफगानिस्तानमा दश सुरक्षा अधिकारी मारिए

तालुकान, अफगानिस्तान । अफगानिस्तानको उत्तरी प्रान्त तखारको खाब्जाघर जिल्लामा तालिबान आतंककारी समूहले गरेको एम्बुस आक्रमणमा परी कम्तीमा दश जना सुरक्षा अधिकारी माएिका छन् ।

यस आक्रमणमा परी अरु नौ जना सैनिक घाइते भएका समाचारमा जनाइएको छ । प्रान्तीय प्रहरी प्रमुख अब्दुल खिलिल आसिरले सो जानकारी दिएका हुन् ।

गस्तीमा रहेको अफगान सेना र प्रहरीको संयुक्त सुरक्षा फौजमाथि तालिबानहरुले सो आक्रमण गरेका थिए । उनीहरुले सडकमा एम्बुस थापेर सो आक्रमण गरेका बताइएको छ ।

खाब्जाघर जिल्लाको पुल ए मोमिन क्षेत्रमा शुक्रबार अति व्यस्त बजारमा तालिबान आतंककारी समूहले गरेको एम्बुस आक्रमणमा दश सुरक्षा अधिकारीको मृत्यु हुनुको साथै अन्य नौ जना घाइते भएका आसिरले सिन्ह्वा समाचार समितिलाई जानकारी दिएका छन् ।

यस आक्रमणबाट तालिबान आतंककारी समूहतर्फ पनि केही लडाकू हताहत भएको तर यसको विस्तृत विवरण प्राप्त नभएको बताइएको छ ।

कुन्दुज र बादख्शान प्रान्तको छिमेकमा पर्ने तखार प्रान्तमा तालिबान आतंककारी समूहको बलियो प्रभाव रहेको मानिन्छ ।

त्यस क्षेत्रमा यसअघि पनि लडाकूहरुले आक्रमण गर्ने गरेका थिए । उनीहरुको बाक्लो उपस्थितिका कारण सुरक्षाकर्मीहरुले पनि पछिल्लो समयमा उनीहरुको निगरानी गर्ने गरेका थिए ।