समाचार

वाग्मती सफाइमा विद्यार्थी

काठमाडौँ । वाग्मती सफाइ महाअभियानबाट प्रभावित भई विद्यालयअघिको नदी किनार सफाइ गर्न विद्यार्थी जुटेका छन् । तीनकुनेस्थित वाग्मती किनारमा रहेको भिएस निकेतन उच्च माध्यमिक विद्यालयका विद्यार्थीले आज नदीमा जम्मा भएको फोहर सफाइ गरेका छन् । वाग्मती सफाइ महाअभियानबाट प्रभावित भई ४८ हप्ताअघि मीनभवन, तीनकुने क्षेत्रको वाग्मती र सडक किनार सफाइ गर्ने उद्देश्यले आलोकनगर सफाइ अभियान शुरु भएको थियो ।

वाग्मती र आलोकनगर सफाइ अभियानबाट प्रभावित भई विद्यालयका विद्यार्थीले चार हप्ताअघिदेखि नदी किनारमा सरसफाइ गर्न थालेको सफाइ अभियन्ता प्रमिला पौडेलले राससलाई जानकारी दिए । प्रत्येक शनिबार वाग्मती र आलोकनगर सफाइ हुने गरेकामा विद्यालय बिदा हुने भएकाले विद्यार्थीले शुक्रबार नै सफाइ शुरु गरेका हुन् ।

विद्यालय शुरु हुनुभन्दा अघि बिहान नौ बजे जम्मा भएका विद्यार्थीको समूहले साढे दश बजेसम्म सफाइ गरी जम्मा गरेको फोहर रिक्सामा राखेर काठमाडौँ महानगरपालिकाको संकलन केन्द्रमा पठाइयो । आजको सफाइबाट तीन रिक्सा फोहर व्यवस्थापन गरियो ।