शिक्षा

माध्यमिक तहसम्म अनिवार्य र निःशुल्क शिक्षाबारे गृहकार्य हुँदै

ललितपुर । सरकारले माध्यमिक तहसम्म अनिवार्य र निःशुल्क शिक्षा कार्यान्वयन गराउन गृहकार्य गर्दैछ ।  निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल(प्याब्सन) को बाह्रौँ राष्ट्रिय साधारणसभाको उद्घाटन गर्दै रक्षामन्त्री ईश्वर पोखरेलले छ महिनाभित्र पात्रोमा आधारित भएर नयाँ शिक्षा नीति र कार्ययोजना बन्ने जानकारी दिए । सीपमूलक र व्यावहारिक शिक्षा सरकारको प्राथमिकतामा रहेकोे बताउँदै उनले भने, “सामान्य विषयमा ३० र प्राविधिक विषयमा ७० प्रतिशत हुने गरी हामीले तयारी गरिरहेका छौँ ।” सरकारको योजनामा सहयोग गर्न उनले निजी विद्यालयलाई आग्रह गरे ।

हात्तीवनस्थित लिटिल एञ्जल्स माविमा शुरु भएको दुईदिने साधारणसभामा विभिन्न विषयका विज्ञले कार्यपत्र प्रस्तुत गर्नेछन् । प्रमुख सल्लाहकार लक्ष्यबहादुर केसीले निजी विद्यालय सरकारलाई सघाउन तयार रहेको प्रतिबद्धता व्यक्त गरे । प्याब्सनका वरिष्ठ उपाध्यक्ष डिके ढुंगानाले निजी विद्यालयले शिक्षाका नाममा पैसा विदेश जानबाट रोकेको बताए । प्याब्सनका सल्लाहकार भोजबहादुर शाहले विगत गर्व गर्नलायक भए पनि वर्तमान चुनौतीपूर्ण रहेको बताए । ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले नयाँ संविधानले शिक्षाको जिम्मेवारी स्थानीय निकायलाई दिएको बताए ।

इस्टुका अध्यक्ष होमकुमार थापाले निजी विद्यालयले लगानी सुरक्षाको कुरा गर्दा त्यहाँ कार्यरत मानिसका विषयमा पनि सोच्नुपर्ने बताए । प्याब्सनका अध्यक्ष विजय सम्बाहाम्फेले निजी विद्यालयले समग्र शिक्षा विकासमा योगदान दिएको बताए ।