पर्यटन/संस्कृति

बुद्धको जन्मस्थल घुमेर हेर्दा जे देखियो

 कपिलवस्तु । पुरातात्विक एवं धार्मिक महत्वको प्रसिद्ध लुम्बिनी ग्राम भगवान शाक्यमुनि गौतमबुद्धको जन्मस्थलको रुपमा संसारभर परिचित छ । बुद्धको जन्मस्थल मायादेवी मन्दिर र बुद्धले २९ वर्ष बिताएको तिलौराकोट दरबारको भग्नावशेष हेर्न हजारौा संख्यामा स्वदेशी तथा विदेशी बुद्ध धर्मका अनुयायी तथा अन्य हिन्दू लुम्बिनी पुग्छन् । तर, नजिकको तीर्थ हेला भने झैं शाक्यमुनि बुद्धजत्तिकै महत्वका अन्य दुई बुद्ध (क्रकुछन्द र कनकमुनि) को जन्मस्थलको चर्चा र महिमा अझैसम्म ओझेलमा परेको छ ।

इशापूर्व छैठौँ शताब्दीमा शान्तिका दूत भगवान गौतम बुद्धको जन्म भएको थियो । बौद्ध साहित्यमा विश्वमा जम्मा २८ वटा बुद्धमध्ये तीन बुद्धको जन्म नेपालमा भएको विश्वास गरिन्छ । पहिलो क्रकुछन्द बुद्धको गोटिहवा, कनकमुनि बुद्धको निग्लिहवा र शाक्यमुनि गौतम बुद्धको जन्म लुम्बिनीमा भएको थियो । लुम्बिनीको जस्तो प्रचारप्रसार हुन नसकेका कारण अन्य बुद्धका पवित्र जन्मस्थलमा पर्यटक कम पुग्ने गरेको लुम्बिनी विकास कोषका सूचना अधिकृत राजन बस्नेत बताउछन् ।

बौद्ध साहित्यमा उल्लेख भएअनुसार अहिलेको महाभद्रकल्पमा पाँचवटा बुद्ध रहेका थिए । तीमध्ये पहिलो क्रकुछन्द, दोस्रो कनकमुनि तेस्रो काश्यप (भारतको बनारस), चौंथो शाक्यमुनि बुद्ध लुम्बिनी र भविष्यमा पूरा हुने महाभद्रकालमा पाँचांै मैत्रयनाथ बुद्ध आउने विश्वास गरिएको छ ।

स्थानीय पथप्रदर्शक राज जैसवालका अनुसार आवश्यक प्रचारको अभावले लुम्बिनीको तुलनामा दुई बुद्ध ओझेलमा परेका छन् । त्यहाँ पर्यटक कमै मात्रामा पुग्छन् । शाक्यमुनिले जस्तो अन्यले ज्ञान प्राप्त गरेर पनि ज्ञान नबाँढेकाले प्रचारमा नआएको जैसवालको भनाइ छ । शाक्यमुनिले २९ वर्षको उमेरमा तिलौराकोटबाट निस्केर भारतको बोधगयामा बुद्धत्व प्राप्त गरे र कुशीनगरमा देहत्याग भएको थियो ।

लुम्बिनीमा पर्यटक बढाउन भैरहवामा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माण चाँडो सम्पन्न गर्नुपर्ने आवश्यकता देखिन्छ । सरकारले लुम्बिनीमा वार्षिक १० लाख विदेशी पर्यटक पु¥याउने लक्ष्य लिएको छ ।

नेपाल एशोसिएसन अफ टूर एण्ड ट्राभल एजेन्टस् (नाट्टा) का प्रथम उपाध्यक्ष अच्युत गुरागार्इं लुम्बिनीमा सरसफाइ तथा सूचना व्यवस्थापन प्रभावकारी नहुँदा अपेक्षित पर्यटक पुग्न नसकेको बताउछन् ।

कोषको विवरणअनुसार सन् २०१७ मा स्वदेशी तथा विदेशी गरी लुम्बिनीमा १६ लाख पर्यटकले भ्रमण गरेका थिए । जसमध्ये एक लाख ४५ हजारको हाराहारीमा विदेशी पर्यटक छन्, भने बाँकी नेपाली हुन् । सन् २०१४ मा १५ लाख लुम्बिनी पुगेका थिए । लुम्बिनीमा श्रीलंका, चीन, म्यानमार, बर्मा, थाइल्याण्ड, कम्बोडिया, लाओस्, भियतनामलगायत देशबाट बढी पर्यटक आउने गर्छन् ।

पर्यटकको बसाइँ लम्ब्याउन बुद्ध परिपथ अभियान

औसत पर्यटक लुम्बिनी र केही तिलौराकोटको भ्रमण गरेर मात्र फर्कने गर्दछन् । उत्तिकै महत्वको गोटिहवा, निग्लिहवा, रामग्रामलगायत क्षेत्र चर्चामा छैनन् । तीनै पवित्र स्थलको समान प्रचार गर्ने र बढीभन्दा बढी विदेशी पर्यटक भित्र्याउने उद्देश्यले बुद्ध परिपथ (बुद्धिस्ट सर्किट) का अभियन्ता विक्रम पाँडे ‘काजी’ ले बुद्धिस्ट सर्किट अभियान शुरु गरेका छन् ।

पर्यटन व्यवसायी पाँडेका अनुसार दुई सर्किट आन्तरिक र अन्तरदेशीय छन् । पहिलो लुम्बिनीबाट कुदान, गोटिहवा, बुद्धगंगा (वाणगंगा) कपिलवस्तु किल्ला, तिलौराकोट दरबारको पश्चिम द्वार, बुद्ध दरबारबाट निस्केको पूर्वी द्वार, मायादेवी सुत्केरी भएको बाटो, निग्लिहवा, कनकमुनि बुद्धको मातृभूमि अरोराकोट र रामग्राथ तथा काठमाडौँको स्वयम्भू, बौद्धनाथ र काभ्रेको नवबुद्धसम्मको रहेको छ ।

त्यस्तै दोस्रो सर्किटमा लुम्बिनी, भारतको बोधगया, सारनाथ र कुशीनगरसम्मको हुनेछ । आन्तरिक सर्किटबारे जानकारी गराउन हालै स्वदेशी तथा विदेशी मिडियाका पत्रकारलाई स्थलगत अवलोकन भ्रमण गराइएको थियो ।

कपिलवस्तु नगरपालिकाले पनि स्थानीय बौद्ध सम्पदालाई समेटेर बुद्धपथ निर्माण शुरु गरेको छ । नगर प्रमुख किरण सिंहले पहिलो चरणमा तिलौराकोट, कुदान, गोटिहवा, निग्लिकोटलगायत सम्पदाको संरक्षण तथा व्यवस्थापन गरी पथको सञ्चालन गरिने बताए ।