समाचार

केन्द्रीय कारागारको निर्माण कार्य तीब्र

रामहरि न्यौपाने /नुवाकोट । नुवाकोट विदुर नगरपालिका–६ खम्बाक्याम्पस्थित केन्द्रीय कारागारको भवन निर्माण कार्य तीव्र रुपमा भइरहेको छ ।

केन्द्रीय कारागार निर्माणका लागि दोस्रोचरणमा एक हजार ५०० बन्दी क्षमताको बन्दीगृह र आवश्यक भौतिक पूर्वाधार निर्माण भइरहेको कारागार व्यवस्थापन विभागका महानिर्देशक कृष्णप्रसाद आचार्यले जानकारी दिए।

“काठमाण्डौ उपत्यकालाई कैदीमुक्त बनाउन निर्माणाधीन भवनलाई तीव्र बनाउन निर्देशन दिएका छौ,” महानिर्देशक आचार्यले भने, “विसं २०७६ कात्तिकदेखि केन्द्रीय कारागारका कैदीलाई यहाँ ल्याउने योजना छ ।”

हाल एक हजार ५०० कैदी राख्नका लागि पाँचवटा भवन, नेपाल प्रहरी र सशस्त्र प्रहरीको एक÷एक वटा आवसीय भवन तथा प्रशासनिक भवन निर्माण कार्य भइरहेको छ । शहरी विकास तथा भवन निर्माण विभाग डिभिजन कार्यालय नुवाकोटमार्फत रु ४२ करोडको लागतमा उक्त भवनको निर्माण भइरहेको छ । उक्त भवनको निर्माण कार्य लामा–‘रमण जेबी कन्ट्रक्सन’ मार्फत भइरहेको जनाएको छ ।

विसं २०७० चैत २० को मन्त्रिपरिषद्को बैठकले काठमाडौँस्थित केन्द्रीय कारागारलाई नुवाकोटमा स्थानन्तरण गर्ने निर्णय गरेको थियो । चरणवद्ध रुपमा यसको निर्माण कार्य भइरहेको छ, यसका लागि बजेटको कुनै खास समस्या नरहेको विभागका उपसचिव विष्णुप्रसाद निरौलाले बताए ।

“पहिलो चरणमा कारागारको जग्गा तारबार गरी एकीकृत गर्ने काम भयो, दोस्रोचरणमा भवन निर्माण कार्यलाई तीव्र बनाएको छ”, उनले भने, “अर्को सातादेखि बाँकी भौतिक संरचनाको निर्माण र बजेट तर्जुमा गर्न लागिरहेका छ ।”

कारागार निर्माणका लागि यहाँको ५३४ रोपनी सरकारी जग्गा विभागको नाममा स्वामित्व हस्तान्तरण भइसकेको छ । यौनिक तथा लैङ्कि अल्पसंख्यकको मानवअधिकारको सम्मान गर्दै निर्माणाधीन कारागारमा समलिङ्गी, तेस्रोलिङ्गी, पुरुष र महिलाको भिन्दा/भिन्दै कक्ष बनाउने ‘गुरुयोजना’ रहेको केन्द्रीय कारागारका जेलर गणेश भट्टराईले बताए ।

“दशवटा ब्लक रहने कारागारमा जघन्य अपराधमा संलग्न, मानसिक बिरामी तथा २१ वर्षभन्दा कम र माथि उमेरका कैदीलाई राख्न भिन्न÷भिन्न भवन बनाइने छ,” जेलर भट्टराईले भने, “कैदीबन्दीको प्रजनन अधिकार रक्षाका लागि दम्पत्ती भेटघाट कक्षसमेत बनाउने कार्यका लागि अध्ययन भइरहेको छ ।”

उनकाअनुसार संघीय संरचनाअनुसार यो कारागार केन्द्रीय कारागार हुने र सात प्रदेशमा प्रादेशिक कारागार तथा सबै जिल्लामा एक/एक कारागार छुट्टै बनाउने लक्ष्य छ ।

निर्माणाधिन केन्द्रीय कारागारमा खेल मैदान, अस्पताल, विद्यालय एवं क्याम्पस, पुस्तकालय, सीप प्रवर्धन केन्द्र, योगकेन्द्र र किरियापुत्री कक्ष रहने गरी योजना तयार भएको छ ।