खेलकुद

नेपाल स्कटल्याण्डसँग पराजित

काठमाडौँ । आइसिसी विश्वकप छनोट क्रिकेट प्रतियोगिताअन्तर्गतको आफ्नो दोस्रो खेलमा पनि नेपाल पराजित भएको छ ।

जिम्बाबेको बुलावायोस्थित क्विन्स स्पोर्टस क्लबमा आज भएको स्कटल्याण्डविरुद्धको खेलमा नेपाल चार विकेटले पराजित भएको हो । यसअघि भएको पहिलो खेलमा भने नेपाल जिम्बाब्वेसँग ११६ रनले पराजित भएको थियो ।

यता जितसँगै स्कटल्याण्ड भने ६ अंक जोड्दै समूह ‘बी’ बाट सुपर सिक्समा स्थान बनाउन सफल भएको छ । नेपालले अफगानिस्तान र हङकङसँग खेल्न बाँकी छ । १५० रनको चुनौती पाएको स्कटल्याण्डले ४१ दशमलव तीन ओभरमा ६ विकेट गुमाउदै १५३ रनको योगफल बनायो ।

स्कटल्याण्डको जितमा केल कोत्जरले सर्वाधिक ८८ रनको योगदान दिए भने वालेसले १७, कलुम म्यालेओडले १५ तथा म्याथ्यु क्रसले १४ रन जोडे । नेपालका वसन्त रेग्मी र सोमपाल कामीले समान दुई÷दुई विकेट लिए भने ललितनारायण राजवंशी र दीपेन्द्रसिंह ऐरीले एक÷एक विकेट हात पारे ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ४७ दशमलव ४ ओभरमा सबै विकेट गुमाएर १४९ रनमा समेटियो । नेपाली टोलीको कप्तान पारस खड्काबाहेक अन्य खेलाडीले उत्कृष्ट प्रदर्शन गर्न सकेनन् । कप्तान खड्काले सर्वाधिक ६३ रनको योगदान दिएका हुन् । उनले ७५ बलमा ११ चौकाको मद्दतमा ६३ रन बनाएका हुन् ।

त्यसैगरी सोमपाल कामीले १८, रोहितकुमार पौडेलले १५ रन जोडे भने वसन्त रेग्मी २४ रनमा नटआउट रहे । दीपेन्द्र सिंह ऐरी एक तथा शरद भेषावकर शून्यमा आउट भए भने आरिफ शेखले २ रन जोडे । स्कटल्यान्डका ह्वीटिङ्घमले ३ विकेट लिए भने सरिफले २ विकेट लिए ।