समाचार

ईतिहास शिरोमणि आचार्यको योगदानको कदर गर्न प्रबुद्धहरुको आग्रह

काठमाडौँ । ईतिहास शिरोमणि बाबुराम आचार्यका कृतित्व एवं व्यक्तित्व सम्बन्धी अध्ययन अनुसन्धान गर्ने मूख्य ध्येयले उहाँको नाममा प्रतिष्ठान स्थापना गरिएको छ ।
प्रतिष्ठान स्थापनाको बारेमा जानकारी गराउन आज यहाँ आयोजित कार्यक्रममा ईतिहास शिरोमणि आचार्यका प्रकाशित/अप्रकाशित सामग्रीलाई अद्यावधिक एवं पुनः प्रकाशित समेत गर्ने संस्थाको उद्देश्य रहेको जानकारी दिईयो ।
७ सदस्यीय प्रतिष्ठानमा  अध्यक्ष तुलसीराम बैद्ध, उपाध्यक्षमा राजेश्वर आचार्य, महासचिबमा बाबुराम आचार्य, कोषध्यक्षमा कञ्चन शर्मा, सदस्यहरुमा प्रा.डा सुरेन्द्र केसी, कृष्ण आचार्य र प्रा. डा. मीना ओझा रहेका छन् ।  उपाध्यक्ष आचार्य चीनका लागी नेपालका राजदूत समेत हुन् भने कृष्ण आचार्य उद्योगपति एबम् पूर्ब साँसद हुन् ।
कार्यक्रममा प्रतिष्ठानका अध्यक्ष प्रा.डा. तुलसीराम बैद्यले नेपालको ईतिहासका क्षेत्रमा आचार्यले गरेको योगदानको कदर गर्दै सरकारले उहाँलाई ईतिहास शिरोमणि पदवी दिएको उल्लेख गरे ।
प्रा डा बैद्यले वर्तमान अवस्थामा सरकारले उहाँका योगदानको उचित कदर गर्न नसकेको गुनासो गर्दै यस विषयमा सरकार र सम्बन्धीत निकायको ध्यानाकर्षण गराउन प्रतिष्ठान स्थापना गरिएको अवगत गराए ।
ईतिहास शिरोमणि आचार्यका ‘प्राचिनकालको नेपाल’, ‘नलेखिएको ईतिहास’, ‘अब यस्तो कहिल्यै नहोस्’, ‘चीन, तिब्बत र नेपाल’, ‘नेपालको संक्षिप्त वृतान्त’, ‘पुराना कवि र कविता’लगायत कृति प्रकाशित छन् ।
प्रतिष्ठानका  सदस्य प्रा डा मिना ओझाले प्रतिष्ठानले ईतिहास शिरोमणि आचार्यको नाममा यस क्षेत्रमा समर्पित प्रतिभाहरुको प्रोत्साहनका लागि सम्मान र पुरस्कृत गर्नेलगायतका विविध कार्यक्रमलाई अघि बढाउने योजना रहेको बताए   ।
ईतिहास शिरोमणि आचार्यकी नातिनी समेत रहेकी प्रतिष्ठानका कोषाध्यक्ष कञ्चन शर्माले उहाँ (शिरोमणि आचार्य)ले सगरमाथाको नामाकरण लगायत मुलुकको ईतिहास लेखनका गरेको योगदानको स्मरण गर्दै  ईतिहासवेत्ता, प्राध्यापक, सञ्चारकर्मीलगायत सम्बन्धीत संस्थालाई प्रतिष्ठानसँग हातेमालो गर्न आग्रह गरिन् ।
प्रतिष्ठानका महासचिव बाबुराम आचार्यले केही ईतिहासविद् तथा निजी तवरबाट ईतिहास शिरोमणि आचार्यको लेखनका क्षेत्रमा उल्लेख्य भूमिका निर्बाह गरिआएको भएतापनि सरकारले आवश्यकता अनुसारको योगदानको कदर गर्न नसकेकोमा गुनासो गरे । विस १९४४ मा जन्मनुभएका ईतिहास शिरोमणि आचार्यको निधन २०२९ सालमा भएको थियो ।