राजनीति

तटबन्धनको माग गर्दै मुख्यमन्त्रीलाई ज्ञापनपत्र

उर्लाबारी, मोरङ । वर्षेनी वर्षायाममा दुुःख दिने मोरङको बक्राहा खोलामा व्यवस्थित तटबन्धनको माग गर्दै स्थानीयवासीले बुधबार बेलुका १ नं प्रदेशका मुुख्यमन्त्री शेरधन राईलाई ज्ञापनपत्र बुुझाएका छन् ।

बक्राहा खोला नियन्त्रण तथा तराई मधेश चुरे संरक्षण विकास पहल समितिमार्फत सुनसरीको इटहरीमा मुख्यमन्त्री राईलाई भेटेर ज्ञापनपत्र बुझाइएको हो । समितिका संयोजक मानबहादुुर श्रेष्ठ, मोरङ क्षेत्र नं १ (क) का प्रदेशसभा सांसद कुुशल लिम्बू, नेकपा (एमाले) का वैकल्पिक केन्द्रीय सदस्य रुपनारायण श्रेष्ठ, मिक्लाजुुङ गाउँपालिकाका अध्यक्ष देवीप्रसाद आचार्यसहितको टोलीले मुुख्यमन्त्री राईलाई भेटेर ज्ञापनपत्र बुझाएको हो ।

मुख्यमन्त्री राईलाई ज्ञापनपत्र बुझाउँदै संयोजक श्रेष्ठले एक साताभित्रमा तटबन्धन निर्माणको काम शुरु नभए आन्दोलनमा उत्रने चेतावनीसमेत दिए । मिक्लाजुुङ गाउँपालिकाको मुुहानदेखि नेपाल भारतको सिमानासम्मको सो खोलाको दायाँबायाँ दीर्घकालीन तटबन्धनको माग गर्दै टोलीले ज्ञापनपत्र बुझाएको हो ।

वर्षा लाग्न केही महिनामात्र बाँकी रहेकाले तत्काल रु २५ करोड बजेट निकासा गरी जोखिमपूर्ण स्थानमा तटबन्धन गर्न माग गरिएको छ । बक्राहा खोला नियन्त्रणका लागि रु चार अर्ब बराबरको गुरुयोजना स्वीकृत भए पनि बजेट नआउँदा समस्या भएको संयोजक श्रेष्ठले बताए ।

चीन सरकारको सहयोगमा २५ वर्ष अघि सो खोलामा लगाएको तटबन्ध जीर्ण भएपछि यस क्षेत्रका हजारौँ बासिन्दाले वर्षेनी बाढीको पीडा भोग्दै आएका छन् ।