मनोरञ्जन

‘पञ्चायत’ मौलिक र अर्गानिक चलचित्र

रत्ननगर, चितवन । पंचायती शासन व्यवस्थाका बेला एउटा गाउँको सामाजिक विषय र न्याय प्रणालीलाई आधार बनाएर निर्माण गरिएको चलचित्र ‘पञ्चायत’ मौलिक र अर्गानिक फिल्म भएको निर्माण समूहले बताएको छ ।

चलचित्रबारे निर्माण युनिटले आज चितवनको भरतपुरमा पत्रकार सम्मेलन गर्दै ऐतिहासिक र मौलिक खालको चलचित्र बनेकाले दर्शकको माया पाउनेमा विश्वस्त रहेको जनाएको छ ।

चलचित्रका मुख्य कलाकार नायक सरोज खनालले वर्षौ–वर्षसम्म अर्काइभ गरेर राख्ने खालको चलचित्र बनेको भन्दै चलचित्र हेर्न दर्शकलाइ अनुरोध गरे ।

“चलचित्र ‘प्रेमपिण्ड’ मन पराउने दर्शकले पञ्चायत झन् हेर्नुपर्छ,” खनालले भने, “एउटा कालखण्डको छाउपडी प्रथा र न्याय प्रणालीको कस्तो थियो भन्ने यसबाट प्रष्ट हुन्छ ।”

उनका अनुसार पहिले च्यारिटी सोमा देखिएको भन्दा फरक रुपमा पञ्चायत आउन लागेको छ । नायिका नीता ढुंगानाले उक्त चलचित्रले अमेरिकामा भएको फिल्म फेष्टिवलमा २१६ वटा चलचित्रलाई उछिनेर उत्कृष्ट अवार्ड पाएको भन्दै खुशी व्यक्त गरे । कथामा मौलिकपन र आफ्नोपन उहाँको विश्लेषण थियो ।

नायिका ढुंगानाले उक्त फेष्टिबलमा उत्कृष्ट नायिकाको अवार्ड समेत पाउनुभएको थियो ।  उनी उक्त फिल्ममा १४ वर्षकी किशोरीको भूमिकामा छन् । चलचित्रका लेखक तथा निर्देशक शिवम् अधिकारीले निकै लामो समयपछि नेपालमा अर्गानिक चलचित्र ‘पञ्चायत’ बनेको दावी गरे । उनले सात वर्ष अघि तयार भएको पटकथाले पूर्णता पाएकामा खुशी पनि व्यक्त गरे । उक्त चलचित्र आगामी चैत २ गतेदेखि देशभरका झण्डै १०० हलमा प्रदर्शन हुँदैछ । चलचित्रका निर्माता गणेश गिरी छन् ।

चलचित्रका अर्का निर्माता शुसान्त श्रेष्ठका अनुसार उक्त चलचित्रको बिहीबार हेटाडौँमा च्यारिटी सो हुँदैछ भने फागुन २५ गते काठमाडौको कुमारीहलमा प्रिमियर सो हुँदै छ । शंकर सुवेदीको पनि लगानी रहेको चलचित्रमा रुपा राना, गीता अधिकारी, गणेश गिरी, विशाल पहारी, किरण थापा, राजुबाबु श्रेष्ठको समेत अभिनय छ ।