समाचार

काठ्माण्डौ प्रगतिः लागुऔषधसहित तीन पक्राउ

काठमाडौँ । महानगरीय प्रहरी परिसर काठमाडौँले उपत्यकाबाट ठूलो परिमाणमा लागुऔषध बरामद गरेको छ । परिसरअन्तर्गतको महानगरीय प्रहरी वृत्त जनसेवाले भारतको रक्सौल हुँदै विभिन्न नाकाबाट काठमाडौँ भित्रिएको पाँच हजार ४०९ थान लागूऔषध मंगलबार दिउँसो बरामद गरेको हो ।

परिसरले आज पत्रकार सम्मेलन गरी कामपा–२१ जैसीदेवलमा एम्बुस राखी जाँच गर्ने क्रममा सुनिल घिमिरेको साथबाट डाइजेल्याव २०३ थान, फेनार्गन २०३ थान र नुर्फिन २०३ थान बरामद गरेको जानकारी दिएको छ ।

घिमिरेमाथिको अनुसन्धानको सिलसिलामा विगू रायभर र महम्मद रियाजुद्दीन समेत पक्राउ परेका छन् । घिमिरे र रायभर नेपाली तथा रियाजुद्दीन भारतीय रहेको प्रहरीले जानकारी दिएको छ ।

परिसरका प्रमुख विश्वराज पोखरेलले भारतको नाकाबाट भारतीयको संलग्नतामा लागूऔषध बस र सुमोबाट काठमाडौँमा भित्रिने गरेको जानकारी दिए । “यो घटनाले काठमाडौँमा धेरै युवायुवती लागुऔषधको लतमा फँसेको देखिन्छ”–उनले भने।

रायभर र रियाजुद्दीनले भारतबाट निश्चित रकम लिएर लागुऔषध नेपालमा ल्याउने र घिमिरेले नेपालमा बसेर बेच्ने गरेको अनुसन्धानमा खुल्न आएको छ । बरामद गरिएको लागुऔषधको मूल्य रु १९ लाखदेखि २३ लाख पर्ने परिसरले जनाएको छ ।

यसैबीच, आजै महानगरीय प्रहरी प्रभाग नागढुंगाले समेत लागूऔषध बरामद गरेको छ ।

प्रभागका प्रमुख केशव भट्टका अनुसार रौतहटबाट काठमाडौँ आउँदै गरेको बा ३ ख ४४६३ नं को यात्रुबाहक बसको जाँच गरी लागुऔषधसहित भारतका अनुरुपकुमार महतोलाई पक्राउ गरिएको छ ।

महतोबाट प्रहरीले नुर्फिन ४९२ एम्पुल, फेनार्गन ५०० एम्पुल र डाइजेल्याव ५०० एम्पुल बरामद गरेको छ ।