शिक्षा

नौ सामुदायिक विद्यालय खारेज

रुकुम । रुकुम (पश्चिम भाग)को आठबीसकोट नगरपालिकाले नौ विद्यालय खारेज गर्ने निर्णय गरेको छ । नगरपालिकाभित्र रहेका ६१ सामुदायिक विद्यालयमध्ये नौ विद्यालयलाई पूर्णरुपमा खारेज गर्ने निर्णय नगर शिक्षा समितिले गरेको हो । भौतिक पूर्वाधार, विद्यार्थी संख्या र शैक्षिक गुणस्तर मापनका आधारमा ती विद्यालयलाई नजिकको अर्को विद्यालयमा पूर्णरुपमा गाभ्ने निर्णय भएको समितिले जनाएको छ ।

एक महिनाको समय लगाएर गरिएको विद्यालय अनुगमनबाट प्राप्त प्रतिवेदनको आधारमा नौ विद्यालयलाई पूर्ण गाभिने र १६ विद्यालयको कक्षा घटाउने निर्णय भएको नगर प्रमुख गोर्खबहादुर केसीले जानकारी दिए । पढाइको गुणस्तर सुधार्न विद्यालय खारेज तथा तह घटाउने निर्णय भएको बताइएको छ ।

“न्यूनतम पूर्वाधार पूरा नभएका, विद्यार्थी संख्या न्यून रहेका, विद्यालयको दूरी ३० मिनेटभन्दा कम भएका र शैक्षिक गुणस्तर न्यून भएका विद्यालय खारेजीमा परेको उनको भनाइ छ । विद्यालय गाभिएपछि शैक्षिक सुधार हुनाका साथै भौतिक पूर्वाधार अभाव नहुने गरेर सबै व्यवस्था मिलाउने तयारी गरिएको छ ।

नगरपालिकाभित्र रहेका चित्रिपाटन आधारभूत विद्यालय वडा नं ४, मस्टकैलाश तथा जलदेवी आधारभूत विद्यालय वडा नं ५, जोलीपीपल तथा जनचेतना र दीपज्योति आधारभूत विद्यालय वडा नं ९ लाई खारेज गरिएको छ । यसका साथै साइराम आधारभूत विद्यालय वडा नं १०, जनभावना आधारभूत विद्यालय वडा नं ११ र जनविकास आधारभूत विद्यालय वडा नं १२ पनि खारेजीमा परेका छन् ।

ती विद्यालयका शिक्षक तथा विद्यार्थी र अन्य भौतिक सम्पत्ति नजिकको विद्यालयमा गाभिएको नगर प्रमुख केसीले बताए । भौतिक पूर्वाधारको अभाव भएका र विद्यार्थी संख्या कम भएका अन्य १६ विद्यालयको तह घटाउने निर्णयसमेत भएको छ ।