शिक्षा

विवाह खर्च कटाएर विद्यालयलाई सहयोग

त्रिशूली, नुवाकोट । विवाहमा लाग्ने खर्च जोगाएर जिल्लाको बेलकोटगढीका एक नवविवाहित जोडीले विद्यालयलाई सहयोग गरेका छन् ।

बेलकोटगढी नपा–११ का गोकर्णप्रसाद तिवारी र विद्या खरेलले विवाह खर्चको रकम जोगाएर स्थानीय निरञ्जना उच्चमाविलाई रु दुई लाख दुई हजार २०२ प्रदान गरेका हुन् ।

तिवारीले आफूले अध्ययन गरेको विद्यालयका जेहेन्दार तथा न्यून आय भएकालाई छात्रवृत्ति प्रदान गर्न दिवंगत पिता स्व होमनाथ तिवारीको नाममा अक्षयकोष स्थापना गरेका हुन् । उक्त कोषबाट एसइई परीक्षामा उत्कृष्ट चार विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिने विद्यालयका प्रधानाध्यापक शिवराज पाण्डेले बताए ।