स्वास्थ्य

भरतपुर अस्पतालमा दन्त उपचार सेवा विस्तार

चितवन । भरतपुर अस्पतालको दन्त चिकित्सा विभागमा सेवा विस्तार गरिएको छ । दाँतको उपचारको लागि सुविधा सम्पन्न ‘डेण्टल चियर’ राखिएको छ । अस्पतालको सेवाप्रति विश्वस्त हुँदै बिरामी आउन थालेपछि दन्त चिकित्सा विभागलाई सुविधा सम्पन्न बनाइएको अस्पतालका सूचना अधिकारी गोपालप्रसाद पौडेलले जानकारी दिए ।

करिब रु ४० लाखको लागतमा चारवटा सुविधा सम्पन्न कुर्ची थपिएसँगै विभागमा बिरामीले सहजै उपचार पाउने भएका हुन् । दन्त उपचारको लागि सबै प्रविधि र सुविधा भएको कुर्ची राखिएको हो । यसअघि अस्पतालमा तीनवटा मात्र कुर्ची रहेका थिए ।

दाँत सफा गर्ने, दाँत भर्ने, शल्यक्रिया गर्ने, सबै प्रविधि एउटै कुर्चीमा रहेको छ । डेण्टल चियर राखेपछि कम समयमा धेरै बिरामीको उपचार गर्न सकिने दन्त चिकित्सा विभागकी प्रमुख डा सोनी सुवेदीले बताए । उनका अनुसार कुर्चीको प्रयोगले उपचारको सहजताको लागि चिकित्सकलाई पनि सजिलो हुने उनले बताए ।

यसअघि सामान्य कुर्चीबाट बिरामीको उपचार गरिँदै आइएको थियो । अस्पतालमा सात जना दन्त चिकित्सक रहेका छन् । दैनिक १०० जना बिरामी यो विभागले हेर्दै आएको छ । यो संख्या अब थपिने उनले बताए ।