पु.समाचार

पत्रकारिता पुरस्कारका लागि अक्षयकोष

चौतारा । सिन्धुपाल्चोकका अमुर्त चित्रकार, साहित्यकार एवम् पत्रकार अमित घिमिरेले आफ्नी स्वर्गवासी माताको स्मृतिमा पत्रकारिता पुरस्कारका लागि अक्षयकोषको स्थापना गरेका छन् ।

स्व माता पवित्रादेवी घिमिरेको तेह्रौँ पुण्य तिथिको दिन नेपाल पत्रकार महासंघ शाखाका सचिव दिनेश थापालाई घिमिरेले मंगलबार रु २० हजार नगद रकम हस्तान्तरण गरेका हुन् । उक्त पुरस्कारबाट जिल्लामा रहेका सबै एफएम रेडियोमा काम गर्ने एकजनालाइ महासंघले छनोट गरी प्रत्येक तीन वर्षमा हुने महासंघको अधिवेशनका दिन सम्मान गरिने उद्देश्य रहेको छ ।

पुरस्कारका लागि पत्रकार घिमिरेका साथै उनका दाजुहरु क्रमशः दुर्गाप्रसाद, धरणीधर, तुलाराम र दिदी खड्ग कुमारी समेतले आर्थिक सहयोग उपलब्ध गराएका हुन् । यसअघि पत्रकार घिमिरेका स्व पिता रामप्रसाद घिमिरेको स्मृतिमा पनि छापा पत्रकारितामा काम गर्ने एक जना पत्रकारलाइ प्रत्येक तीन वर्षमा सम्मान गर्ने गरी उनीहरुले अक्षयकोषको स्थापना गरिसकेका छन् ।