समाचार

वनको आगो गाउँमा पस्दा छ घर ध्वस्त

तेह्रथुम । वनमा लागेको डढेलो गाउँमा पस्दा जिल्लाको लालीगुराँस नगरपालिका–८, सोल्माका छवटा घर जलेर नष्ट भएका छन् ।

स्थानीयवासी गोविन्द अधिकारी, लक्ष्मी अधिकारी, नरेन्द्र अधिकारी, लोकनाथ न्यौपाने, गुरुप्रसाद लुइँटेल र एकराज तिम्सिनाको घर जलेर नष्ट भएको प्रमुख जिल्ला अधिकारी वेदनिधि खनालले बताए ।

गाउँसँगै रहेको हात्ती आहाल सामुदायिक वनमा मंगलबार दिउँसो करिब ३ बजे सल्किएको आगो हावाहुरीका कारण गाउँमा पसेको थियो । साढे ३ बजेदेखि घरमा सल्किएको आगोले फुसको छानो भएका, पाली सहितका छवटा घर, लत्ताकपडा, नगद र गरगहनासमेत जलेर नष्ट भएको वडाध्यक्ष तुलसीराम खनालले बताए । उनका अनुसार आगलागीबाट रु ४४ लाख २७ हजार बराबरको धनमाल जलेर नष्ट भएको छ । आगो सल्किएपछि तुरुन्तै आगो निभाउने जनशक्ति र पानी दुवै अभाव भएकाले ठूलो क्षति भएको प्रजिअ खनालले बताए ।

छवटै घरमा आगो सल्किएपछि मात्रै प्रहरी घटनास्थलमा पुगेको थियो । जिल्लाबाट नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनासहित स्थानीयवासीले स्याउलाले हिर्काएरै साँझ ६ बजे आगो नियन्त्रणमा लिएका थिए । लालीगुराँस नगरपालिकासँग दमकल भए पनि सडक नभएका कारण आगो निभाउन समस्या भएको हो । वनमा आगो मान्छेले नै लगाएको भन्ने खुले पनि कसले लगाएको भन्ने थाहा नभएको वडाध्यक्ष खनालले बताए ।

वनमा आगो लगाउनेको बारेमा सूचना आए आफूले मुद्दा दर्ता गरी कारबाही गर्ने प्रजिअ खनालले बताए । जलेका छवटामध्ये दुईवटा घरमा मान्छे थिएनन् । गुरु लुइँटेल र एकराज तिम्सिनाले जमीन बाँझै र घर खाली नै छाडेर गत वर्ष नै बसाइँ सरेका थिए ।

बाँकी रहेका गोविन्द अधिकारीको चार, लक्ष्मी अधिकारीको ६, नरेन्द्र अधिकारीको पाँच र लोकनाथ न्यौपानेको पाँचजनाको परिवार आगलागीले घर जलेपछि मंगलबार छिमेकीको शरणमा परेका छन् । उनीहरुलाई बुधबार राहत उपलब्ध गराउने जिल्ला दैवी प्रकोप उद्धार समितिका संयोजक प्रजिअ खनालले जानकारी दिए । वनबाट नजिकमा रहेको गाउँमा लहरै घर भएकाले सबै घर जलेका घटनास्थलमा पुगेका प्रहरी हवल्दार दीपेश चौधरीले बताए ।