समाचार

प्रतिनिधिसभाको आजको बैठकले यस्तो बनायो नियमावली मस्यौदा समिति

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकले ‘प्रतिनिधिसभा नियमावली मस्यौदा समिति’ गठन गरेको छ । समिति १३ सदस्यीय हुनेछ । समितिमा कृष्णभक्त पोखरेल, जुलीकुमारी महतो, दिलेन्द्रप्रसाद बडू, देवप्रसाद गुरुङ, प्रेम सुवाल, वृजेशकुमार गुप्ता, मीनबहादुर विक, डा मीनेन्द्र रिजाल, रवीन्द्र अधिकारी, रेखा शर्मा, लक्ष्मणलाल कर्ण, डा विन्दा पाण्डे र विमलप्रसाद श्रीवास्तव सदस्य छन् ।

समितिलाई एक महिनाको कार्यावधि दिइएको छ । समितिले प्रतिनिधिसभा मातहत रहने समितिको नाम र सङ्ख्या तय गर्ने र प्रतिनिधिसभाको बैठक सञ्चालनको सम्पूर्ण कार्यविधि तय गर्नेछ । समितिले आवश्यकताका आधारमा विज्ञ तथा सहयोगीसमेत लिन पाउने व्यवस्था गरिएको छ । समितिले सदस्यभित्रैबाट सभापति चयन गर्नेछ ।

प्रतिनिधिसभा सदस्य भानुभक्त ढकालले प्रस्तुत गरेको ‘प्रतिनिधिसभा नियमावली मस्यौदा समिति गठन गरियोस्’ भन्ने प्रस्तावलाई बैठकले सर्वसम्मतिले पारित गरेको थियो । उक्त प्रस्तावलाई डा रिजाल र कृष्णबहादुर महराले समर्थन गरेका थिए ।

सभामुखको निर्वाचन शनिबार

प्रतिनिधिसभाको बैठकले यही फागुन २६ गते सभामुख निर्वाचनको मिति तोकेको छ । निर्वाचनसम्बन्धी कार्यतालिका भने संसद् सचिवालयका महासचिव मनोहरप्रसाद भट्टराईले प्रकाशन गर्ने गरी ज्येष्ठ सदस्य महन्थ ठाकुरले निर्देशन दिए । प्रतिनिधिसभाको अर्को बैठक फागुन २६ गते अपराह्न १ बजे बस्नेछ ।