आर्थिक

चाँगुनारायणमा बैंकिङ सेवाको अभाव

भक्तपुर । चाँगुनारायण नगरपालिकामा अझै पनि बैंकिङ सेवाको अभाव रहेको छ । नेपाल राष्ट्र बैंकले एउटा स्थानीय तहमा कम्तीमा एउटा वाणिज्य बैंक खोल्ने नीति लिए पनि काठमाडौँसँग जोडिएको चाँगुनारायणमा हालसम्म वाणिज्य बैंकको शाखा स्थापना नहुँदा सेवाग्राही मारमा परेका छन् ।

चाँगुनारायण जिल्लाकै सबैभन्दा बढी ग्रामीण भेग समावेश भएको स्थानीय तह हो । यस नगरपालिकाको चाँगुनारायण, नगरकोट, छालिङ, ताथली, सुडाल, चित्तपोललगायत क्षेत्रका बासिन्दालाई बैंक नजिक नहुँदा आर्थिक कारोवार गर्न असहज भएको छ । यहाँका बासिन्दा सहकारीमार्फत आर्थिक कारोवार गर्दैआएका छन् ।

“सहकारीबाट महँगो ब्याजदरमा ऋण लिनुपर्ने बाध्यता छ,” ताथलीका मोहनकुमार छुँकाले भने । सरकारले रु १० लाखभन्दा बढीको आर्थिक कारोवार बैंकमार्फत गर्नुपर्ने व्यवस्था गरेपछि समस्या भएको उनको भनाइ छ ।

खाता खोल्न र खातामा भएको रकम झिक्न एक दिनको समय खेर जानेगरी कमलविनायक र सूर्यविनायक धाउनुपर्ने बाध्यता रहेको नगरकोटका धनबहादुर लामा बताउछन् ।

चाँगुनारायण नगरपालिकामा नगरकोट र चाँगुनारायणजस्ता पर्यटकीय क्षेत्र छन् । यहाँ अस्पताल र कलेजसमेत छन् । सम्पत्ति शुद्धीकरण आयोगले पनि रु १० लाखदेखि माथिको कारोवार गर्दा बैंक र चेकबाट मात्र गर्नुपर्ने निर्देशन जारी गरेको छ ।

चाँगुनारायण नगरपालिकाको आर्थिक कारोवार माछापुछ्रे, नेपाल बैंक र कैलाश विकास बैंकमार्फत भइरहेको नगर प्रमुख सोमप्रसाद मिश्रले जानकारी र्दिए। नपामा बैँक सेवा ल्याउनका लागि माछापुच्छे«, प्रभु, सानिमा, एनएनबी, नेपाल बैंकलगायत १० वटा बैंकमा पत्राचार गरी पटक पटक छलफल गरिएको उनको भनाइ छ । जिल्लामा रहेका बैंक सूर्यविनायक र कमलविनायकमा बढी केन्द्रित छन् ।