समाचार

रक्तदाता समाजको तेस्रो महाधिवेशन हुने

काठमाडौँ । नेपाल स्वयंसेवी रक्तदाता समाजको तेस्रो महाधिवेशन आगामी चैत २४ र २५ गते काठमाडौँमा हुने भएको छ । देशका विभिन्न २१ जिल्लामा सञ्जाल विस्तार गरेको उक्त समाजले सम्बन्धित जिल्लाबाट १०५ प्रतिनिधि, पर्यवेक्षक, सरोकार पक्षलगायत करिब १०० जना गरी २०० भन्दा बढिको सहभागितामा महाधिवेशन गर्न लागेको हो ।

छरिएर बसेका रक्तदातालाई एकताबद्ध गरी रक्तदानसम्बन्धी जनचेतना फैलाउने विषयमा महाधिवेशनमा छलफल गरिने समाजका अध्यक्ष प्रेमसागर कर्माचार्य (रक्तसागर)ले जानकारी दिए । अध्यक्ष कर्माचार्यले अहिलेसम्म १५३ पटक रक्तदान गरिसकेका छन् ।

रक्तदाताले निःशुल्क गरेको रक्तदानलाई पीडितसम्म पनि निःशुल्क उपलब्ध गराउनका लागि अन्तक्र्रिया, सुझाव संकलन गर्नेछ । सर्वसाधारणले निःशुल्क वितरण गरिएको रगत निजी क्षेत्रले बिक्री गरिरहेको विषयमा समेत छलफल गरी व्यवस्थापनलाई कारबाहीका लागि माग गरिनेछ ।

यसपटक महाधिवेशनको नारा ‘कम्तीमा एक परिवार, एक स्वयंसेवक रक्तदाता अभियान’ भन्ने रहेको छ । विसं २०६२ माघ १५ गते स्थापना भएको समाजको महाधिवेशनद्वारा नयाँ नेतृत्वसमेत चयन गरिने आयोजकले जनाएको छ ।