राजनीति

मधेशको जनताका हितका लागी प्रदेश नम्बर २ को सरकारलाई समर्थन : बाम गठबन्धन

बर्दिवास । वाम गठबन्धनका नेताले प्रदेश नम्बर २ मा मधेशी जनताको समृद्धिको सपनालाई बल पु¥याउन सरकारलाई समर्थन गरेको बताएका छन् ।

सोमबार महोत्तरीको भङ्गाहा नगरपालिकाको सीतापुर बजारमा नेकपा (एमाले) भङ्गाहा नगर कमिटीले आयोजन गरेको ४५ औँ सुखानी सहादत दिवशलाई सम्बोधन गर्दै गठबन्धनका नेताले मधेशी जनताको समृद्धिको सपनालाई बल पु¥याउन संघीय समाजवादी फोरम नेतृत्वको सरकारलाई समर्थन गरिएको बताएका हुन् ।

कार्यक्रमलाई सम्बोधन गर्दै एमाले प्रदेश संसदीय दलका नेता सत्यनारायण मण्डलले फोरमको कुनै गुन तिर्न समर्थन नगरिएको स्पष्ट पारेका थिए । “एमालेका तर्फबाट भन्नुपर्दा फोरमले कुनै गुन लगाएको र सो तिर्नपर्ने स्थिति भने होइन” नेता मण्डलले भने –“तर मधेशी जनताको समृद्धिको जुन सपना छ, त्यसलाई बल पु¥याउन भने बलियो प्रदेश सरकार आवश्यक थियो, हामीले त्यसैलाई बल पु¥याएका हौँ ।”

आफ्नोतर्फबाट मधेशको समृद्धिका लागि भरपुर प्रयत्न हुने एमालेको स्थायी कमिटी सदस्य र पार्टीको प्रदेश संयोजकसमेत रहेका नेता मण्डलले स्पष्ट पारे । “हामीले मधेशी जनताको सम्मान गर्दै प्रदेश सरकारलाई समर्थन गरेका छौँ” नेता मण्डलले भने–“अब सबैको सहयोग लिएर अघि बढ्ने काम सरकारको हो ।”

त्यसैगरी, समारोहलाई सम्बोधन गर्दै नेकपा (माओवादी केन्द्र)का नेता एवं प्रदेशसभा सदस्य भरतप्रसाद साहले अब छिट्टै दुई दल –एमाले र माओवादी केन्द्रबीच हुने एकीकरणपछि कम्युनिष्ट पार्टी प्रदेशको पहिलो पार्टी हुने बताए । आफूहरु प्रदेशमा जनताको समृद्धिको कुरालाई जिम्मेवारीबोध गरेर अघि बढेका बताउँदै नेता साहले प्रदेश सरकारका तर्फबाट पनि त्यस्तै अपेक्षा गरिएको उल्लेख गरे ।

कार्यक्रममा प्रदेशसभा सदस्य शारदा थापा र मञ्जु यादवले सुखानीको सहादत खेर जान नदिने प्रतिबद्धता जनाएको थियो ।
विसं २०२९ फागुन २१ गते तत्कालीन पञ्चायती सरकारले जेल सार्ने निहुँमा झापाको सुखानीमा गोली हानेर हत्या गरेका कम्युनिष्ट पार्टीका अगुवा योद्धा रामनाथ दाहाल, वीरेन राजवंशी, नेत्र घिमिरे, नारायण श्रेष्ठ र कृष्ण कुइँकेलको सम्झनामा आयोजित सो कार्यक्रममा एमाले २ नम्बर प्रदेश कमिटीकी सदस्य सरिता ढुंगाना, एमालेका कार्यबाहक जिल्लाअध्यक्ष शौखीलाल यादव र जिल्लाका पुराना वामपन्थी नेता रामबहादुर रानाले सुखानी सहादत दिवसको महत्वबारे प्रकाश पारेका थिए ।

रमेश यादवको अध्यक्षतामा सम्पन्न भएको सो कार्यक्रममा महोत्तरी जिल्लाबाट प्रदेशसभामा निर्वाचित सदस्य भरतप्रसाद साह, शारदा थापा र मञ्जु यादवलाई एमाले प्रदेश संयोजक मण्डलले दोसल्ला ओढाएर सम्मान गरे । सोही समारोहमा एमाले भङ्गाहा नगर कमिटीका संयोजक रमेश यादवले नेता मण्डललाई सम्मानित गरेका थिए ।