समाचार

सेवाग्राहीलाई छिटो छरितो सेवा सम्बन्धित शाखाबाट

काठमाडौँ । जिल्ला प्रशासन कार्यालय काठमाडौँले सेवाग्राहीलाई छिटो छरितो सेवा दिनका लागि सम्बन्धित शाखाबाट नै सबै काम गर्न थालेको छ ।

सेवाग्राहीलाई एउटै कामका लागि अन्य शाखामा धाउनुपर्ने समस्या हटाउनका लागि सम्बन्धित शाखाबाट नै काम गर्न थालेको सहायक प्रमुख जिल्ला अधिकारी ललित बस्नेतले जानकारी दिए ।

उनले सम्बन्धित शाखाका प्रमुखलाई अधिकार प्रत्यायोजित गरी काम थालिएको बताए । “एउटै कामका लागि सेवाग्राही एक शाखाबाट अर्को शाखामा जानु पर्दथ्यो” उनले भने– “शाखा प्रमुखलाई अधिकार प्रत्यायोजित गरेर सम्बन्धित काम एउटै शाखाबाट गर्न थालेका छौँ ।” एउटै शाखामा कर्मचारी थप गरेर काम गर्न थालिएको हो ।

अहिले दैनिक १२ वटा शाखाबाट सेवाग्राहीलाई सेवा दिइरहेको छ । यसअघि एउटा कामका लागि गएका सेवाग्राही सो कामका लागि निवेदन दिने, रुजु गर्ने, तोक आदेश लगाउने जस्ता कार्य अधिकार प्राप्त अधिकारी नभएपछि अन्यत्र जानु पर्ने अवस्था थियो ।

यसैगरी सहयोग कक्षबाट सेवाग्राहीलाई निःशुल्क फ्याक्स सेवाको व्यवस्था गरिएको छ । कुनै ठाउँबाट कागजात पठाउन र लिनका लागि निःशुल्करुपमा फ्याक्स सेवाको व्यवस्था गरिएको बस्नेतले बताए ।

दैनिक करिब ४०० सेवाग्राही जिल्ला प्रशासन कार्यालयमा आउने गरेका छन् । तीमध्ये अधिकांश नागरिकता र राहदानी बनाउनका लागि आउने गरेका छन् । दैनिक १०० जना नयाँ नागरिकता, ५० जना प्रतिलिपी र १५० जना राहदानी लिन आउने गरेका छन् ।