शिक्षा

सामुदायिक विद्यालयमा स्थानीय तहले हस्तक्षेप गर्न नहुने

काठमाडौँ । सामुदायिक विद्यालय व्यवस्थापन समिति राष्ट्रिय महासंघले स्थानीय तहले आफूखुशी विद्यालय व्यवस्थापन समितिलाई गठन र विघटन नगर्न माग गरेको छ ।

संविधानले माध्यमिक तहसम्म सञ्चालनको जिम्मेवारी स्थानीय तहलाई दिएको भए पनि विद्यालय व्यवस्थापन समितिमा अभिभावकको निर्णयको आधारमा नीतिगत काम हुनुपर्ने माग महासंघले गरेको हो ।

महासंघका अध्यक्ष कृष्ण थापाले आज आयोजित संवाद कार्यक्रममा प्रस्तुत गरेको अवधारणा पत्रमा तत्काल नै स्थानीय तहको स्रोत साधन र आवश्यक कानून नभएकाले अभिभावकलाई नै विद्यालयको जिम्मेवारी दिनुपर्ने बताए।

नेकपा (एमाले) का शिक्षा विभाग प्रमुख गंगालाल तुलाधरले स्थानीय तहलाई शिक्षाको सम्पूर्ण अधिकार दिए पनि चाँडै नै कानून बनाएर स्थानीय तहलाई बलियो बनाई विद्यालय व्यवस्थापनको जिम्मा स्थानीय तहलाई दिनुपर्ने आवश्यकता औँल्याए ।

नेपाली काँग्रेस केन्द्रीय सदस्य प्रदीप पौडेलले स्थानीय तहको जिम्मामा विद्यालय व्यवस्थापन रहेको भएता पनि विद्यालय व्वयवस्थापन समितिमा अभिभावकलाई पनि समेट्नु पर्ने बताए ।

नेकपा ( माओवादी केन्द्र ) का नेता एवं पूर्व शिक्षामन्त्री धनीराम पौडेलले विद्यालय व्यवस्थापन गर्ने सम्बन्धमा स्थानीय तह र अभिभावक कसले गर्ने भन्नेमा प्रतिस्पर्धा गर्न नहुने बताए ।

भक्तपुरस्थित सूर्यविनायक नगरपालिकाका उपप्रमुख जुना बस्नेतले अभिभावकबाट विद्यालय सुध्रन नसकेको भन्दै जनप्रतिनिधिलाई नै विद्यालयको जिम्मेवारी दिनुपर्ने विचार व्यक्त गरे ।

पूर्वसचिव महाश्रम शर्माले विद्यालय व्यवस्थापन समिति स्थानीय सरकारप्रति उत्तरदायी हुनुपर्ने बताए ।