कृषि

लोप हुनबाट बचाउन स्थानीय जातका गाईको संरक्षण

चितवन । स्थानीय जातका गाई लोप हुनबाट बचाउने उद्देश्यका साथ पवित्र तीर्थस्थल देवघाटधाम क्षेत्रको बागेश्वरीमा गाई संरक्षण गरिँदै आएको छ ।

उन्नत जातका गाईपालन फस्टाउँदै जाँदा पूजाआजाका लागि दूध, मल र मूत्र आवश्यक पर्ने भन्दै योगी नरहरिनाथले थालेको अभियानलाई स्थानीय समाजसेवीले निरन्तरता दिएका हुन् ।

विसं २०४९ देखि योगी नरहरिनाथले बागेश्वरीमा स्थानीय जातका गाईको संरक्षण र संवद्र्धन गर्दै आएका थिए । उनको निधनपछि स्थानीयवासीले गौ संरक्षण केन्द्रका रुपमा यसलाई विकास गर्दै स्थानीय जातको गाईको संरक्षण गर्दै आएका छन् ।

बागेश्वरी आध्यात्मिक परिषद् योगी नरहरिनाथ आश्रम परिसरमा गौ संरक्षण केन्द्र रहेको छ । केन्द्रका संयोजक टंकनाथ पौडेलका अनुसार हाल केन्द्रमा २०० गाई रहेका छन् । दाताले निर्माण गरिदिएका गौशालामा गाईलाई व्यवस्थित ढंगबाट पालनपोषण गरिँदै आएको छ । ती गाईको पालापोषणका लागि मासिक रु एक लाख २५ हजार खर्च हुने गरेको उनले बताए। गाईसेवकलाई पारिश्रमिक, चापट, पराल, दानालगायत खर्च हुने पौडेलले बताए ।

गौशालामा गाईको गहुँतबाट अर्क पनि बनाइने गरेको छ । यसबाट मासिक रु ३५ हजार आम्दानी हुने गरेको गौ संरक्षण केन्द्रका आर्थिक उपसमितिका संयोजक उमाशंकर अग्रवालले बताए । एक व्यक्तिलाई मासिक रकम लिने गरी अर्क बनाउनका लागि जिम्मा दिइएको छ । गाईको दूध भने बाच्छाबाच्छीलाई नै छाडिन्छ । गाईसेवकले केही दूध संकलन गरेर आफैले प्रयोग गर्ने भए पनि व्यावसायिक रुपमा दूधको कारोबार भने संरक्षण केन्द्रमा नहुने अग्रवालको भनाइ छ ।

संरक्षण केन्द्र सञ्चालनका लागि विभिन्न दाताबाट प्राप्त रकमको अक्षयकोष स्थापना गरिएको छ । कोषमा हालसम्म रु ४२ लाख जम्मा भएको छ । रु एक करोड बराबरको कोष बनाउने लक्ष्य छ । उनले रु ११ हजार सहयोग गर्नेलाई आजीवन सदस्य तथा रु एक लाख दिनेलाई संरक्षक राखिने बताए ।

गाईको मल, मूत्र र दूध हिन्दूका कर्मकाण्डमा अनिवार्यरुपमा प्रयोग गरिन्छ । मृत्यु तथा शुतक परेका बेला चोख्याउन गहँुत खाने प्रचलन कायमै छ । कम दूध दिने गाईका रुपमा चिनिएका स्थानीय गाई, श्री, वैदिकलगायत गाईको संरक्षणमा चुनौती थपिएको छ । लोपोन्मुख अवस्थामा रहेका, अत्यन्तै असुरक्षित रहेका तथा बेवारिसे गाई संरक्षण गर्नका लागि गौ संरक्षण केन्द्र प्रभावकारी बन्दै गएको पौडेलले बताए। विदेशबाट आयातित गाईका कारण स्थानीय वैदिक गाई संरक्षणमा समस्या देखिएको छ । पूजा तथा अनुष्ठानमा समेत स्थानीय जातको गाई नै दान गर्ने प्रचलन छ ।

गौ संरक्षण केन्द्र भएको क्षेत्रमा ४२ बिगाहा जग्गा छ । सोही ठाउँको जग्गा मेडिकल कलेज अफ मेडिकल साइन्सेसलाई भाडामा दिएपछि योगी नरहरिनाथले सर्र्वोच्च अदालतमा सरकारी निर्णयविरुद्ध मुद्दा दायर गरेका थिए। सर्वोच्चको फैसलासँगै मेडिकल कलेज त्यस क्षेत्रबाट हटेको छ ।

योगी नरहरिनाथ देशका महत्वपूर्ण धार्मिकस्थलमा कोटीहोम सञ्चालन गर्ने धार्मिक गुरु हुन्थे। उनी संस्कृत वाङ्गमय क्षेत्रका ज्ञाता मानिन्छन्।