कृषि

असला माछा मारे तीस हजार जरिवाना

खोटाङ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–११ खार्मी र वडा नं १० पाथेकाका स्थानीय समुदायले स्थानीय खोलामा पाइने माछा मार्न रोक लगाएका छन् ।

पछिल्लो समय स्थानीय खोलामा करेन्ट तथा विष लगाएर माछा मार्नेक्रम बढेसँगै संसारकै दुर्लभ मानिने असला माछा लोप हुने अवस्थामा पुगेपछि समुदायले यस्तो कदम चालेको हो ।

रुपाकोट शिर भएर बग्ने देखुमखोला, कालुपातेखोला, आइतबारेखोला र बगरेभञ्ज्याङ शिर भएर बग्ने भुत्याखोलामा माछा मार्न रोक लगाइएको स्थानीय सर्वधन राईले जानकारी दिए । “लोप हुन लागेको असला माछा संरक्षणका लागि समितिसमेत बनाएका छौँ,” उनले भने – “संरक्षण समितिले पहिलो पटक माछा मारेको भेटे रु पाँचदेखि १० हजार, दोस्रो पटक रु १० देखि २० हजार र तेस्रो पटक रु २० देखि तीस हजार नगद जरिवानासहित कानूनी कारबाही गर्ने निर्णय गरेको छ ।”

संरक्षण समितिमा आबद्ध स्थानीयवासीले माछा पाइने खोलाहरुको नियमित अनुगमन गर्नसमेत शुरु गरेका छन् । माछा संरक्षणका लागि खार्मी र पाथेका प्रवेश गर्ने मुख्यद्वारहरुमा असला माछासहितको होर्डिङबोर्ड राखिएको समितिले जनाएको छ ।

माछा संरक्षण समितिलाई वडाको तर्फबाट समेत आवश्यक सहयोग हुने वडाध्यक्ष रामचन्द्र राईले बताए । स्थानीय लक्षिणाप्रसाद राईको संयोजकत्वमा ११ सदस्यीय संरक्षण समिति गठन गरिएको छ ।

यसअघि, ती खोलाहरुमा पाइने असला माछा स्थानीयवासीले मारेर दिक्तेल र बाक्सिलाबजारमा बिक्री गर्ने गरेका थिए । सानो खोलामा पनि प्रशस्त पाइने असला माछा प्रतिकेजी रु ७०० मा बिक्री हुने गरेको छ ।