पु.समाचार

पुनःनिर्माणमा पर्म विधि प्रभावकारी

नुवाकोट । भूकम्पले क्षति पुगेको आवास पुनःनिर्माणमा यहाँको दुई बस्तीमा श्रम आदानप्रदान (पर्म विधि) प्रभावकारी भएको छ ।

जिल्लाको किस्पाङ गाउँपालिका–१ भाल्चे र वडा नं ३ काउलेका भूकम्प पीडितबीच पर्म विधिमार्फत घर बनाउने पुरानो परम्परा अहिले लोकप्रिय बनेको हो । काउले र भाल्चेका बासिन्दाले भूकम्पपछि निजी आवास पुनःनिर्माणका लागि समाजमा हराउँदै गएको पर्म विधिलाई व्यवहारमा उतारेका छन् । पर्म विधिमा सक्रिय रहेका महिला पनि घर निर्माणमा धुरी चढेर काम गर्नहुन्न भन्ने अन्धविश्वास र परम्पराको अन्त्य गर्दै आवास पुनःनिर्माणमा सक्रिय भएको निजी आवास पुनःनिर्माणमा सहयोग पु¥याउँदै आएको नेपाल रेडक्रस सोसाइटी, जिल्ला शाखा नुवाकोटले जनाएको छ ।

आवास पुनःनिर्माणअन्तर्गत दक्ष कामदार बन्न डकर्मी तालीम लिएका महिला र पुरुष सँगसँगै घडेरी खन्न, घरको गाह्रो लगाउन, घर छाउन व्यस्त छन् । सिकर्मी तालीम लिएका महिला र पुरुष सँगसँगै काठ चिर्न, आरोतान्न, बन्चरो हान्न, करौती रेट्न पर्म लगाइरहेका छन् । भूकम्पले क्षति पुगेका आवास पुनःनिर्माण गर्न दक्ष कामदारको अभावमा जिल्लाको अन्य स्थानमा बाहिरबाट आएका कामदार लगाउनुपर्ने बाध्यता छ । यहाँ भने तालीम प्राप्त स्थानीय कामदारले पर्मबाट पुनःनिर्माणलाई तीव्र बनाएका छन् ।

किस्पाङको काउलेमा निजी आवास निर्माणका लागि गठन गरिएको आठ समूहमध्ये तीन समूहमा महिलाको मात्र संलग्नता रहेको रेडक्रस नुवाकोटका कार्यक्रम संयोजक शारदा खतिवडाले जानकारी दिए । “समूहमा आबद्ध सबैले पर्म विधिले एक–पछि अर्कोको घर बनाउँदै आएका छन्,” खतिवडाले भने, “शुरुमा तालीम लिन हिच्किचाएकाहरु अहिले सीप सिकेर व्यावसायिक रुपमा निर्माणकर्मी भएर काम गर्न सक्रिय छन् ।”

रेडक्रसमार्फत पर्म चलाउन भाल्चेमा गठन भएको निजी आवास निर्माणको सात समूह सक्रिय छन् । जिल्लाको विभिन्न बस्तीमा आवास पुनःनिर्माणका लागि बाहिरबाट कामदार ल्याए पनि पुनःनिर्माणका लागि रेडक्रसमार्फत सिकर्मी र डकर्मी तालीम पाएसँगै गाउँमै दक्ष जनशक्ति उत्पादन भएपछि काउले र भाल्चेमा पर्ममार्फत आवास निर्माण तीव्र भइरहेको छ ।

काउलेमा ९५३ लाभग्राही रहेकामा ७४६ परिवारले घर निर्माण शुरु गरेकामा ३५९ परिवारले सम्पन्न गरिसकेका छन् । भाल्चेमा एक हजार पाँच लाभग्राहीमध्ये ७६६ ले घर निर्माण शुरु गरी ३६१ परिवारले सम्पन्न गरिसकेको सरकारी तथ्यांक छ । रेडक्रस नुवाकोटले ‘भूकम्प प्रतिकार्य कार्यक्रम’अन्तर्गत अमेरिकन रेडक्रसको आर्थिक एवम् प्राविधिक सहयोगमा काउले र भाल्चेको दुई गाउँका एक हजार ९५८ निजी आवास पुनःनिर्माण, जीविकोपार्जन लगायतमा आयआर्जन बढाउन लाभग्राहीलाई आर्थिक एवम् प्राविधिक सहायता दिँदै आएको छ ।

समुदायमा निकै लोकप्रिय रहेर पनि हराउँदै गएको पर्म विधि पुनः प्रयोगमा ल्याउन सहयोग पुगेको किस्पाङ गाउँपालिका अध्यक्ष छत्रबहादुर लामाले बताए ।
रेडक्रसले जिल्लाको साबिक सात गाविस भाल्चे, काउले, मनकामना, उर्लेनी, लच्याङ, हल्देकालिका र सूयर्मतीका ४०८ जनालाई कालीगढ तालीम दिएको सामुदायिक प्रशिक्षक समुन्द्रबाबु अधिकारीले जानकारी दिए ।