खेलकुद

फुटसल प्रतियोगिताको उपाधि नवोदित कलेजलाई

काठमाडौँ । तेस्रो क्रान्तिकारी फुटसल प्रतियोगिताको उपाधि नवोदित कलेजले हात पारेको छ । अखिल क्रान्तिकारीद्वारा आयोजित तेस्रो क्रान्तिकारी फुटसल प्रतियोगिताको आइतबार साँझ ८ बजे सम्पन्न खेलमा नवोदित कलेजले हिमालयन इन्जिनियर कलेजलाई १ का विरुद्ध १० गोल हानेर प्रथम भएको हो ।

प्रतियोगितामा प्रदेश नं ३ का ६४ कलेजको सहभागिता रहेको थियो । प्रतियोगितामा विजेता नवोदित कलेजले रु ५५ हजार नगद, ट्रफी र प्रमाणपत्र प्राप्त गरेको छ । यस्तै उत्कृष्ट खेलाडी नवोदितकै आशीष गुरुङ भएका छन् । उनले रु पाँच हजार नगद प्राप्त गरेका छन् ।

प्रतियोगिताका उत्कृष्ट खेलाडीलाई पुरस्कार वितरण गर्दै पूर्वअर्थमन्त्री एवम् सांसद वर्षमान पुनले पछिल्लो समय युवामा फुटसल खेलप्रति आकर्षण बढेको भन्दै उक्त प्रतियोगितामार्फत नेपाललाई विश्वजगत्मा चिनाउनुपर्ने बताए ।

उच्च माध्यमिक विद्यालय संघ (हिसान)का सचिव राजेन्द्र अधिकारीले उच्च माध्यमिक तहमा पढाइका अलावा खेलकुदको विकास हुनु जरुरी रहेको बताए ।

अखिल क्रान्तिकारीका महासचिव उत्तम अधिकारीले सबैका लागि खेल, राष्ट्रका लागि खेल र स्वास्थ्यका लागि खेल भएकाले नेपालमा उत्पादित खेलाडीले अन्तर्राष्ट्रिय क्षेत्रमा समेत चिनाउने हुँदा यसको विकासका लागि राज्य लाग्नुपर्नेमा जोड दिए ।