खेलकुद

नेपाल पुलिस क्वाटरफाइनल प्रवेश

सुरुङ्गा, झापा । झापाको बिर्तामोडमा जारी तेस्रो रमपम झापा गोल्डकपको आज भएको खेलमा रेजिन सुब्बाको एकमात्र गोलको मद्दतले नेपाल पुलिस क्लब विजयी बन्दै क्वाटरफाइनलको यात्रा तय गरेको छ ।

रुपन्देही–११ लाई पाखा लगाउन प्रतियोगिताको ८१ औँ मिनेट पर्खनुपरेको थियो । सुमन लामाको पासलाई सदुपयोग गर्दै सुब्बाले बललाई पोष्टको दिशा दिएका थिए । रुपन्देही ११ का गोलकिपर सोजित गुरुङ बिट भइसकेको अवस्थामा डि एरियाभित्र रहेका सुब्बाले गोल गरेका थिए ।

खेलको म्यान अफ द म्याच बिजेता नेपाल पुलिस क्लबका सुमन लामा घोषित भए । उनले रु २५ हजार पुरस्कार पाएका छन् । सोमबारको खेल सशस्त्र प्रहरीको एपिएफ र थ्री स्टार क्लबबीच हुने आयोजक समितिले जनाएको छ ।

गोल्डकपको विजेताले रु १२ लाख ५१ हजार र ट्रफी पाउनेछन् भने उप विजेताले रु छ लाख र ट्रफी पाउनेछन् ।