समाचार

सातजनाको हत्या अभियोग लागेका सकिललाई कतारबाट प्रहरीले नेपाल ल्यायो

काठमाडौँ । सातजनाको हत्या गरेको आरोप लागेका मोहम्मद सकिल हुसेनलाई आज कतारबाट नेपाल ल्याइएको छ । सकिल हुसेनलाई नेपाल प्रहरीको अनुरोधमा अन्तर्राष्ट्रिय प्रहरी संगटन (इन्टरपोल) को सचिवालयले विसं २०७२ असार ७ गते ‘रेडकर्नर नोटिस’ जारी गरेको थियो ।

इन्टरपोलको समन्वयमा कतार प्रहरीले केही दिनअघि पक्राउ गरेकोमा इन्टरपोल कतारबाट खटिआएका प्रहरी अधिकृतले आज हुसेनलाई नेपाल ल्याएको नेपाल प्रहरीका प्रवक्ता मनोज न्यौपानेले आज जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

सप्तरीका इद्रिस खलिफा नट, जैतुन खातुन, सैरुन खातुन, सहबुद मिया, सगिरा खातुन, दुलारी देवी साह र निर्मला देवी साहसमेत सातजनाको हत्या गरी फरार रहेको अभियोगमा हुसेनविरुद्ध सप्तरी जिल्ला अदालतमा सर्वस्वसहित जन्मकैद सजाय माग दाबी गरिएकोमा उनी फरार भएर वैदेशिक रोजगारीका लागि कतार पुगेका थिए ।

पक्राउ परेका हुसेनलाई फैसला कार्यान्वयनका लागि काठमाडौँ जिल्ला अदालतमा पेश गरिने प्रहरीले जनाएको छ ।