स्वास्थ्य

स्वास्थ्य शिविरमा डा केसी

त्रिशूली, नुवाकोट । फागु पूर्णिमा बिदाको सदुपयोग गर्दै डा गोविन्द केसी नुवाकोटका बिरामीको उपचारमा व्यस्त भएका छन् । डा केसी पञ्चकन्या गाउँपालिका–१ र लिखु गाउँपालिका–४ मा बिरामीको उपचारमा स्वास्थ्य शिविरमा संलग्न भएका हुन् ।

पञ्चकन्या गाउँपालिका–१ आपचौरमा शुक्रबार १५० जनाको स्वास्थ्य परीक्षण गरी औषधि वितरण गर्नुभएका डा केसी शनिबार लिखु गाउँपालिका–४ चौघडामा स्थानीयवासीको स्वास्थ्य परीक्षण गर्नमा व्यस्त भएका छन् । चौघडा स्वास्थ्य चौकीमा डा केसीले २०७ जना स्थानीयवासीको स्वास्थ्य परीक्षण, स्वास्थ्यसम्बन्धी परामर्श र औषधि वितरण गर्नुभएको स्थानीयवासी शान्तिकुञ्ज एकेडेमीका अध्यक्ष मधु अधिकारीले जानकारी दिए ।

डा केसी आफ्ना दुई जना सहयोगीका साथमा व्यक्तिगत खर्चमा केही औषधि खरिद गरी तथा केही औषधि कम्पनीबाट सहयोग जुटाएर नुवाकोट आएका हुन् । उनले बिहीबार फागू पूर्णिमाको बिदा र लगत्तै शनिबार पनि भएकाले यो बिदालाई सदुपयोग गर्न आएको बताए । डा केसी भूकम्पपछि सोही महिनाको अन्तिम साता स्वास्थ्य शिविर चलाउन यो क्षेत्रमा आएका थिए ।