आर्थिक

मजदुर समस्याले उद्योग बन्द गर्नुपरेको छ : उद्योगी

नगरकोट । भक्तपुरका उद्योगी व्यवसायीले मजदुर समस्याले गर्दा उद्योग बन्द गर्नुपर्ने बाध्यता रहेको बताएका छन् । भक्तपुर उद्योग वाणिज्य संघमा नवनिर्वाचित पदाधिकारीको सम्मानमा भक्तपुर घरेलु तथा साना उद्योग संघले शुक्रबार गरेको बधाई कार्यक्रममा उद्योगी व्यवसायीले मजदुर समस्याले घरेलु तथा साना उद्योग झन् ठूलो समस्यामा रहेको बताए ।

कार्यक्रममा उद्योग वाणिज्य संघका नवनिर्वाचित रामप्रसाद प्रजापतिले देशका उद्योग व्यवसायमा मजदुर समस्या समाधान गर्न सरकारले रोजगारीकै लागि विदेश जाने युवालाई निरुत्साहन गर्नुपर्ने माग गरे । संघका प्रथम उपाध्यक्ष प्रदीप श्रेष्ठले मजदुरको समस्यालाई सम्बोधन गर्न युवालाई तालीम दिनुपर्ने धारणा राखे ।

भक्तपुर घरेलु तथा साना उद्योग संघका अध्यक्ष वीरेन्द्र जतीले विदेश जाने युवालाई देशमै काम गर्ने वातावरण निर्माणमा सरकारले ध्यान दिनुपर्ने सुझाव दिए । कार्यक्रममा भक्तपुर उद्योग वाणिज्य संघका अध्यक्ष प्रजापतिसँगै संघका प्रथम उपाध्यक्षमा निर्वाचित भक्तपुर घरेलु तथा साना उद्योग संघका पूर्वअध्यक्ष प्रदीप श्रेष्ठ, सदस्यमा निर्वाचित संस्थापक कोषाध्यक्ष राजेन्द्रप्रसाद प्रजापति, महिला उद्यमी संघका अध्यक्ष र सदस्यमा निर्वाचित क्रमशः चन्द्रकला बास्तोला र चित्रा किसीलाई सम्मान गरिएको थियो ।