समाचार

फुटपाथ अब्यबस्थाका कारण अस्तव्यस्त महानगरपालिका

सञ्चिता घिमिरे/ ललितपुर । ललितपुर महानगरपालिकाका व्यस्त सडकमा फुटपाथ पसल नहट्दा सिंगो नगर क्षेत्र अस्तव्यस्त भएको छ ।

फुटपाथ पसलका कारण सवारी चालक, पैदलयात्रीसँगै स्थानीय व्यापारीसमेत हैरान बनेका छन् । महानगरपालिकाले केही समयका लागि कडाइ गर्दा सडक खाली भए पनि त्यो लामो समयसम्म टिक्न सकेको छैन । दिउँसो सडकको बीच भागसम्मै पसल राख्दा यातायात आवागमनलाई समेत बाधा पुगिरहेको छ । बसपार्कमा केही वर्ष पहिले व्यापारी खाट नै राखेर बस्ने गरेका थिए । अहिले त्यो नभए पनि बसपार्कमा ठूलो संख्यामा व्यापारी छन् ।

ललितपुर उद्योग वाणिज्य संघका उपाध्यक्ष रवीन्द्रराज ताम्राकार फुटपाथ पसल नगरको दीर्घकालीन समस्या भएर रहेको बताउछन् । “फुटपाथ हटाउनका लागि प्रशासन र महानगरपालिकाले समय समयमा पहल गरे पनि त्यो लामो समय टिक्ने गरेको छैन”, उनी भन्छन्, “फुटपाथ हटाएको दुई÷चार दिनमै सडकमा उत्तिकै पसल हुन्छ ।” फुटपाथका कारण यहाँ आउने पर्यटकसमेत हैरान छन् ।

काठमाडौँ उपत्यकाका नगर क्षेत्रका सडकमा व्यापार गरेर जीविकोपार्जन गर्ने धेरै छन् । रोजगारीका लागि काठमाडौँ उपत्यका आएका धेरै मानिसले अरु काम नपाएपछि सडकको व्यापारलाई आर्थिक उपार्जनको माध्यम बनाएका छन् । नगरका लगनखेल, मंगलबजार, सातदोबाटोलगायत स्थानमा धेरै फुटपाथ पसल छन् ।

नगर प्रहरी प्रमुख कदमलाल महर्जन महानगरपलिकामा सबैभन्दा बढी फुटपाथ व्यवस्थापनको खाँचो लगनखेल–मंगलबजार सडकखण्डमा रहेको बताउछन् । एक पटक हटाउँदैमा फुटपाथ पसल हट्न नमान्ने र नियमित रुपमा लाग्नका लागि जनशक्तिको कमी रहेको उनले बताए । उनले भने, “हामीले हटाएको केही समयमा नै आँखा छलेर पसल बाटोको बीचमा नै राख्छन् ।”

महानगरपालिकामा अहिले २३ नगर प्रहरी कार्यरत छन् । न्यायिक समितिको निर्णय कार्यान्वयन, पार्किङ व्यवस्थापन, भवन सुरक्षा, सार्वजनिक सम्पत्तिको सुरक्षालगायत काम उनीहरुको जिम्मेवारीमा छ । फुटपाथ व्यवस्थापनमा धेरै जनशक्ति लाग्दा मात्रै फुटपाथ व्यवस्थापन गर्न सकिने उहाँ बताउछन् । सार्क सम्मेलनका समयमा दिनरात काम गरेर नगर प्रहरीले सडक खाली गरेको थियो । उनी भन्छन्, “अहिले पनि धेरै जना र नियमित खटिएर मात्रै फुटपाथ खाली गराउन सकिन्छ ।”

समय समयमा फुटपाथ व्यवस्थापनमा महानगरपलिकाले चासो देखाए पनि त्यो लामो समयसम्म टिकेको छैन । फुटपाथ पसल राख्न बन्द नै गर्दा यहाँका पार्टी निकट संगठनले विरोध गर्दै आएका छन् । सबै दलका साना व्यापारीको संगठन छ ।

नगर प्रमुख चिरीबाबु महर्जन छिटै फुटपाथ व्यवस्थापन आफ्नो प्राथमिकतामा रहेको बताउछन् । उनका अनुसार फुटपाथ व्यवस्थापनमा लाग्न नगर प्रहरीलाई निर्देशन दिइएको छ । यसअघि फुटपाथ व्यवस्थापन भए पनि लामो समयसम्म हुन सकेको थिएन । उनी भन्छन्, “औँसीदेखि पूर्णिमासम्म मात्रै फुटपाथ हट्ने गरेकामा अब नगरमा यो समस्या सधैँका लागि हटाउने योजना रहेको छ ।” लगनखेलदेखि मंगलबजारसम्म फुटपाथ पसलकै कारण ट्राफिक व्यवस्थापन हुन सकेको छैन । ट्राफिक व्यवस्थापन गर्ने उनको योजना छ । त्यसका लागि समेत फुटपाथ व्यवस्थापन राम्रोसँग गरिने उनी बताउछन् ।

फुटपाथ हटाउनेभन्दा व्यवस्थापन गर्नुपर्ने विषय समय मयमा उठान भइरहेको छ । फुटपाथ व्यापार गर्नेको व्यवस्थापनकै लागि केही वर्ष पहिले तत्कालीन उपमहानगरपालिकाले जिल्ला अदालत कार्यालय अगाडि टहरा निर्माण गरेको थियो । अहिले त्यो टहरा लेखापढी व्यवसायीलाई महानगरपालिकाले भाडामा लगाएको छ ।