खेलकुद

सहदेव र निश्चललाई स्वर्ण

काठमाडौं । धनकुटाका सहदेव भुजेल र आयोजक गोदावरी फिट्नेस एकेडेमीका निश्चल आचार्यले प्रथम गोदावरी नगरपालिका मेयर कप राष्ट्रिय आमन्त्रण तेक्वान्दो प्रतियोगितामा शुक्रबार स्वर्ण जितेका छन् ।
गोदावरीस्थित किटिनी कलेजमा भएको पुरुष ५४ केजीमुनि फाइनलमा सहदेवले छ्यासीकोटका विक्रम तामाङलाई पराजित गरे । पुरुष ३८ केजीमुनि फाइनलमा निश्चलले ललितपुरका दीपक दुलाललाई हराए । पुरुष २८ केजीमुनि मध्यपुरका उत्सव अधिकारी पहिलो भए । फाइनलमा उनले पुष्पाञ्जलीका भूपेन्द्रसिंह रावलको चुनौती समाप्त पारे ।
महिला २२ केजीमुनि पुष्पाञ्जलीकी ममता बुढाथोकीले आयोजककी संग्राम थापा, २५ केजीमुनि आयोजककी सुजिता तामाङले चुनदेवीकी निङमा मोक्तान, ३० केजीमुनि आयोजककी खुशी कार्कीले नेपाल आराधनाकी मनमाया भुजेल, ३६ केजीमुनि मकवानपुरकी दीक्षा मगरले आयोजककी सरिता घले तथा ३८ केजीमुनि आयोजककी जिना दरईले सिन्धुपाल्चोककी कल्पना विकलाई फाइनलमा पाखा लगाउदै शीर्ष स्थान हात पारे ।
प्रतियोगिताको गोदावरी नगरपालिकाका मेयर गजेन्द्र महर्जनले एक कार्यक्रमबीच उद्घाटन गरे । दुईदिने प्रतियोगितामा २ सय ७६ खेलाडीले विभिन्न १९ स्पर्धामा प्रतिस्पर्धा गरिरहेका छन् ।