साहित्य

कल्पना काफ्लेको ‘नझुल्केको घाम’

सृष्टीको आदिमकाल देखि
माथिबाटै झुल्किन्थ्यो घाम
भिजाएर धर्ती
माथिबाटै पर्थ्यो शीतल पानी
छरेर उज्याला बैजनी रङ्गहरु
गाउँथे समानताका गीत
र पोखिदिन्थ्यो रङ्गहरुको इन्द्रेणी पानीमा ।
म चोवलिन्थे पसिनाको सरोबरमा चुर्लुम्म
जवरजस्ती फलाम पिटेर घनले
हँसिया कोदाली र फाली बनाउँदै
चुल्हाको चुलेसीमा धार लगाउँदै
तिम्रो दैनिकी चलाइदिन
तिमीलाई दिएर मेरो अमुल्य समय
तिमी घट्घट् पिउथ्यौ मेरो श्रमका पसिना
र मेटाउँथ्यौ अतृप्त प्यास ।

मेरो औलाको चक्र छाप
कुनै शिल्पीले कुँदेका बुट्टाहरु
तिमीले काटेको स्याउहरुमा हुन्थे
नास्पतीहरुमा हुन्थे
र, तिमी त्यही टुक्राहरुलाई
भगवान भनाउँदो ढुङ्गाहरुलाई चढाउँथ्यौ ।
पानीका मुहानमा पानी छताछुल्ल भएर बग्दा
पिपिरीको पातले दुना बनाएर
तिमीले रितो गाग्री भरिरहँदा
लाग्थ्यो त्यो गाग्रीमा तप् तप् तप्
मरो आँशु झरिरहेको छ, पसिना चुहिरहेको छ ।
मैले बनाएको औजारले
बाँस कपेर धारो बनाएको पानी
तिम्रा कुल देवतालाई चढाउने गंगाजल बन्यो ।

मानिसको श्रृष्टी दुई कोखबाट हुन्छ
सृष्टिको कालखण्डमा भगवानले
एउटा लोग्ने मान्छे र अर्को आइमाइ मान्छे बनायो
र, आइमाइको कोखबाट तिमी जन्मियौँ ।
वेदका ऋचाहरु र पुराणका पर्वहरुमा
कतै उल्लेख छैन म अछुत जन्मेको कथा
सबै आइमाइको कोख उघारेर जन्मिए
तर म त,
बाबुको गर्भको च्यादर च्यातेर
फुत्त धर्तिमा आएको मान्छे हुँ ।
कसैले मलाई छुनु हुँदैन
कहिँ कतै मैले छोएको पानी चल्दैन
मैले छोएको फुलपाती तिम्रो भगवानलाई चढाउनु हुँदैन
म पढ्ने विद्यालयमा तिमी पढ्नु हुँदैन ।
तिम्रा लागि घाम अलग्गै लाग्नुपर्छ,
पानी अलग्गै बग्नु पर्छ

सोच्छु, के तिमी र म बीच हिँड्ने बाटो फरक छ ?
के म उभिएको आँगन फरक छ ?
माटो फरक छ ?