राजनीति

२ नं प्रदेशलाई मधेश प्रदेश नामकरण गर्न पहल गरिने

काठमाडौँ । संघीय समाजवादी फोरम नेपाल तथा राष्ट्रिय जनता पार्टीका नेताहरुले संविधान संशोधन नभएसम्म आफूहरु वाम गठबन्धनको सरकारमा समावेश नहुने बताएका छन् ।

यहाँ आज आयोजित साक्षात्कारमा उनीहरुले मधेशी जनताको भावनानुरुप संविधानमा संशोधन हुनुपर्नेमा जोड दिँदै सरकारमा जाने कुरा आफूहरुको दोस्रो प्राथमिकता भएको बताए । फोरमका महासचिव रामसहाय यादवले ‘अधुरो र अपूरो’संविधान संशोधन गर्ने लिखित प्रतिबद्धता नेकपा(एमालेबाट नआएसम्म सरकारमा नजाने बताए । उनले २ नं प्रदेशलाई मधेश प्रदेश नामकरण गर्न पहल गरिने पनि बताए ।

राजपाका नेता मनिष सुमनले वाम गठबन्धनले फोरमसँग गम्भीर रुपमा वार्ता गरिरहेको भए पनि आफूहरुलाई भने बेवास्ता गरेको गुनासो गर्दै मधेश आन्दोलन शब्द संविधानमा लेख्न कन्जुस्याइँ गरिएको बताए ।

एमालेका नेता रवीन्द्र अधिकारीले मुलुक समृद्ध बनाउन फोरम र राजपालाई सरकारमा ल्याइने कसरत भइरहेको बताए ।

नेकपा (माओवादी केन्द्र)का नेता दीनानाथ शर्माले सरकारमा सामेल भई संविधान संशोधनका लागि छलफल गर्न मधेशी नेतालाई आग्रह गरे ।
नेपाली काँग्रेसका नेता प्रदीप पौडेलले देशलाई पाँच वर्षभित्र आर्थिक रुपमा समृद्ध बनाउनुपर्ने बताउँदै पार्टीभित्र बृहत् एकता आवश्यक भएकाले काँग्रसलाई रुपान्तरण गर्नुपर्नेमा जोड दिए ।