पर्यटन/संस्कृति

सौराहामा ‘फगुवा सांस्कृतिक महोत्सव’

रत्ननगर, चितवन । चितवनको रत्ननगरस्थित सौराहामा बिहीबारदेखि फगुवा सांस्कृतिक महोत्सव शुरु भएको छ । थारुहरुको मौलिक संस्कृति जोगाउन चितवनको सौराहामा दोस्रो फगुवा सांस्कृतिक महोत्सव शुरु भएको आयोजक प्याराडाइज युवा क्लबले जनाएको छ ।

आजसम्म चल्ने दुईदिने सो महोत्सवको पहिलो दिन विभिन्न क्षेत्रबाट आएका थारुहरुले आफ्नै वेशभूषामा मौलिक गीत र नृत्य प्रस्तुत गरेका थिए । यस्तै कलाकारले पनि गीतमार्फत मनोरञ्जन दिएको आयोजक प्रतिनिधि दिपेश चौधरीले बताए ।

हराउन लागेको थारुको फगुवा पर्वको जगेर्ना गर्न गतवर्षबाट यहाँ फगुवा महोत्सव मनाउन थालिएको हो । थारुहरुको फगुवा पर्वमा विशेष गरी डम्फु बजाइन्छ ।

पुरुषले डम्फुको तालमा थारुका घर घर गएर फागु खेल्ने अनि मौलिक गीत नृत्य प्रस्तुत गर्छन् । यस्तो परम्परा हराउँदै गएकाले फगुवा महोत्सव गरेर फेरि संरक्षण थालेको स्थानीय थारु अगुवा वासुदेव चौधरी बताउछन् ।

पहाडी क्षेत्रमा बिहीबार र तराईमा आज शुक्रबार फागु पर्व मनाउने गरिन्छ । चितवनमा दुवै दिन फागु मनाउने गरिन्छ । महोत्सवमा थारुहरुले डम्फु नाच, झर्रा नाच, लाठी नाच पनि प्रस्तुत गरिरहेका छन् ।

अब हरेक पर्वमा कुनै न कुनै कार्यक्रम गरेर नयाँ पुस्तामा संस्कृति हस्तान्तरण गर्ने योजना रहेको थारु अगुवा वीरेन्द्र चौधरी बताउछन् । महोत्सवमा मिलन लामा, मनोज चौधरी, अमित चौधरी केशवराज महतोलगायत कलाकारले गीत–संगीत प्रस्तुत गरिरहेका छन् ।

महोत्सव उद्घाटनका क्रममा विभिन्न क्षेत्रबाट थारु संस्कृति र सामाजिक एवं संरक्षणमा विशिष्ट योगदान पु¥याउने डा गौरीराम महतो, डा सञ्जय चौधरी, हर्क लामा, सुमित्रा महतो र थारु आन्दोलनका घाइते सञ्जिव महतोलाई सम्मान गरिएको थियो ।

महोत्सवअन्तर्गत साँझ यहाँ थारुहरुको परम्पराअनुसार चिर पोलेर फगुवा पर्वसमेत मनाइएको सांस्कृतिक कार्यक्रम संयोजक दिपेश चौधरीले जानकारी दिए ।