पर्यटन/संस्कृति

यसरी मनाइदैँछ, विराटनगरमा बिहानैदेखि ‘होली’ पर्व

विराटनगर । एकापसमा रंग र अबिर दलेर आज बिहानैदेखि मोरङलगायत तराईका जिल्लामा होली पर्व उत्साहका साथ मनाइदैँछ । सो पर्वको अवसरमा विराटनगरका विभिन्न ठाउँमा एकापसमा रंग र अबिर दलेर उत्साहका साथ यो पर्व मनाइरहेको देखिन्छ । विराटनगरका कतिपय ठाउँमा पर्व मनाउनका लागि विशेष आयोजना पनि गरिएको छ ।

नेपाल पत्रकार संघ मोरङको परिसरमा पत्रकार एकापसमा रंगअबिरका साथ यो पर्व मनाइरहेका छन् । त्यस्तै, विराटनगर महानगरपालिकालगायत विभिन्न संस्थामा पनि पर्व मनाउन विशेष व्यवस्था गरिएको छ ।

यस पर्वको अवसरमा खासगरी मालपूवा पकाउने गरिन्छ । कतिपय व्यक्तिले आज मासु अनिवार्य रुपमा खाने गर्छन् । सोही कारणले आज विराटनगरका दर्जनौं ठाउँमा खसीको मासु बिक्रीका लागि राखिएको देखिन्छ ।

फागुन पूर्णिमाको भोलिपल्ट असत्यमाथि सत्यको विजय भएको खुशीयालीमा यो पर्व मनाइने गरिन्छ । हिन्दूको धार्मिक ग्रन्थमा उल्लेख गरिएका अनुसार, हिरण्यकश्यपले आफ्ना छोरा प्रह्लाद भगवान विष्णुको भक्त भएको कारण उनलाई ज्यान मार्न अनेकौं उपाय गरेका थिए ।

पहाडबाट फाल्ने, हात्तीको खुट्टाबाट कुल्चेर मार्नेलगायतका तरिका असफल भएपछि बहिनी होलीका सहयोगमा छौं प्रह्लादलाई मार्ने खोजेको थियो । होलीकाले कहिले पनि आगोमा नजल्ने बरदान ब्रह्माबाट प्राप्त गरेकी थिइन् ।

सोही बरदानको फाइदा उठाएर होलीकाले बालक प्रह्लादलाई काँखमा राखी चारैतिरबाट दाउराका साथै तीव्र गतिमा जल्ने वस्तुमाथि बसिन् । ती वस्तुमा आगो लगाएपछि भगवान विष्णुको कृपाले प्रह्लादलाई केही भएन र होलीकाको जलेर मृत्यु भएको थियो ।

फागुनपूर्णिमाको दिन यो घटना भएको थियो । मुलुकको पहाडी भेगमा फागुन पूर्णिमाको दिन होली खेलेर बेलुकी होलिका दहन गर्छन् भने तराईमा फागुन पूर्णिमाको बेलुकी होलीका दहन गरेर बिहान होली पर्व मनाउने गरिन्छ ।