सूचना प्रविधि

पश्चिमी क्षेत्रमा टेलिफोन सेवा

सल्यान । पश्चिमी क्षेत्रमा टेलिफोन सेवा सञ्चालनमा आएको छ ।  नेपाल टेलिकमले साविकको मूलखोला गाविस–८ राउचेको लाटुगैरमा टावर विस्तार गरेसंँगै सो क्षेत्रमा टेलिफोन सेवा सञ्चालनमा आएको हो । दुई वर्षअघि निर्माण शुरु गरिएको टावर स्थानीय, प्रदेश र केन्द्रको चुनावका कारण समयमा काम नसकिएको टेलिकमले जनाउँदै आएको थियो ।
टावर विस्तारपछि बन्गाड कुपिण्डे नगरपालिका वडा नं १,४, र ६ तथा सिद्धकुमाख गाउँपालिकाको केही भागमा सुविधा भएको छ । टेलिफोन नहुँदा स्थानीयवासी घण्टा हिँडेर सल्ली बजार पुगेर फोन गर्नुपर्ने बाध्यता थियो ।

टेलिकम क्षेत्रीय कार्यालय सुर्खेतले टावरमा जडान गर्ने उपकरणको अभावले ढिला भएको जानकारी दिए पनि नगरपालिकाले ताकेता गरेपछि टावर सञ्चालनमा आएको हो । यसैबीच एक महिनादेखि सल्ली बजारमा एडिएसल सेवा अवरुद्ध रहेको छ । पटक पटक जानकारी गराउँदा पनि मर्मतमा चासो नदिइएकोे आरोप स्थानीयवासी दुर्गा बिसीले लगाए । टेलिकमले ढिलासुस्ती गरेपछि आफैँ टेलिकम सुर्खेतमा पुगेर पहल गरेको वनगाड कुपिण्डे नगरपालिकाका प्रमुख गोविन्द पुनले बताए।