आर्थिक

चेम्बरसंगको भेटमा प्रधानमन्त्री भन्छन्, ‘दुई अंकको आर्थिक वृद्धिका लागि सरकार अग्रसर’

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी आर्थिक वर्षको प्रथम चौमासिकमै दुई अंकको आर्थिक वृद्धि पु¥याउने योजनामा सरकार लागेको बताएका छन्

नेपाल चेम्बर अफ कमर्शले आज प्रधानमन्त्री निवास बालुवाटारमा बुझाएको सुझावपत्र बुझ्दै प्रधानमन्त्री ओलीले आव २०७३÷७४ मा भएको ६.९ प्रतिशतको आर्थिक वृद्धिदरलाई बढाएर दुई अंकको आर्थिक वृद्धिदरमा पु¥याइने र समृद्धिको यात्रालाई अगाडि बढाइने बताए ।

चेम्बरले ‘आगामी दशक दुई डिजिट (दुई अंकको) आर्थिक वृद्धिको दशक’ हुनुपर्नेमा जोड दिएको छ । चेम्बरले प्रधानमन्त्री ओलीसमक्ष निजी क्षेत्रका तर्फबाट मुलुकको समस्त आर्थिक विकासका लागि बुझाएको सुझाव प्रतिवेदनमा सरकार र निजी क्षेत्र त्यसका लागि संयुक्तरुपमा मिलेर अगाडि बढ्नुपर्नेमा जोड दिइएको अध्यक्ष राजेशकाजी श्रेष्ठले जानकारी दिनुभयो । उक्त सुझाव प्रतिवेदनमा कृषि, ऊर्जा र पर्यटन क्षेत्रका सुझाव समेटिएका छन् । कानूनी शासनको सुनिश्चितता, औद्योगिक विकास तथा विदेशी लगानी, राजश्व, शेयर बजार, यातायात, सञ्चार र पूर्वाधार विकास, पेट्रोलियम पदार्थ आयातलगायत विषयमा समेत सुझाव दिइएको छ ।

अत्याधिक सार्वजनिक बिदाले मुलुकको आर्थिक विकासमा नकारात्मक प्रभाव पारेको जनाउँदै सुझावमा त्यसलाई मिलाउन निश्चित समुदायको पर्वमा निश्चित समुदायलाई मात्रै बिदा दिइँदा उपयुक्त हुने सुझाव समेटिएको छ । आर्थिक क्षेत्रसँग सम्बन्धित ऐनलाई ग्राह्यता, संघीयताका चुनौती, वैदेशिक व्यापार, बैंकिङ क्षेत्रका समस्या समाधान गर्नसमेत आग्रह गरिएको छ ।

कार्यक्रममा अर्थमन्त्री डा युवराज खतिवडाले निजी क्षेत्रलाई विश्वासमा लिएर नै आर्थिक समृद्धिका लागि आफूहरु अग्रसर हुने स्पष्ट पारे । कार्यक्रममा चेम्बरका निवर्तमान अध्यक्ष सुरेशकुमार बस्नेत, वरिष्ठ उपाध्यक्ष राजेन्द्र मल्ल, दीपककुमार मलहोत्रा, उपाध्यक्ष कमलेशकुमार अग्रवाल, महेन्द्रमान श्रेष्ठ, इच्छाराज तामाङ, भाष्करराज राजकर्णिकारलगायत सहभागी थिए ।