अन्तर्राष्ट्रिय

मालीमा भएको शान्ति सैन्यको हत्याको महासचिव गुथ्रेसद्वारा निन्दा

संयुक्त राष्ट्रसंघ । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुथ्रेसले मालीमा भएको शान्ति सैन्यको हत्याको निन्दा गरेका छन् । मालीमा शान्ति स्थापनाको काममा खटेका राष्ट्रसंघीय मिसनका चारजना बंगाली सैनिकको बुधबा विद्रोहीले हत्या गरेका थिए ।

विद्रोहीको हमलामा परी अरु चार सैनिक नराम्ररी घाइते भएका पनि समाचारमा जनाइएको छ । मालीमा यहाँका छ जना सैनिकको हत्या भएको एक दिनपछि थप चार जना शान्ति सैन्य पनि मारिएका छन् ।

महासचिव गुथ्रेसले बुधबार प्रकाशन गरेको विज्ञप्तिमा शान्ति सैनिकमाथि भएको हमला मानवीय अपराध हो भन्दै उनीहरुलाई कानुनी कारबाहीको दायरामा ल्याउनुपर्नेमा उनले जोड दिएका छन्।

मालीमा सन् २०१३ मा राष्ट्रसंघीय मिसन स्थापना भएको हो । यहाँको प्रजातान्त्रिक राजनीतिक प्रक्रियालाई सघउन र देशमा शान्ति सुरक्षा र अमन चयन कायम गर्नका लागि उक्त मिसनको स्थापना गरिएको हो ।

उक्त मिसनमा खटिएका शान्ति सैन्यमाथि पछिल्लो समयमा हिंसात्मक हमला हुने गरेको छ । त्यसमा परी केही शान्ति सैनिक मारिएका छन् ।