खेलकुद

एन्फामा सल्लाहकारका रुपमा चियाकी नियुक्त

काठमाडौँ । जापान अन्तर्राष्ट्रिय सहयोग एजेन्सी (जाइका)ले अखिल नेपाल फुटबल संघ (एन्फा) मा विज्ञ चियाकी ताकेदालाई फुटबल सल्लाहकारको भूमिका निर्वाह गर्न एक वर्षका लागि नियुक्त गरेको छ ।

चियाकी ताकेदा यसअघि एन्फामा प्राविधिक निर्देशकका रूपमा कार्यरत थिए । कार्यकाल सम्पन्न भएपछि उहाँलाई नै जाइकाले एक वर्षका लागि सल्लाहकारका रुपमा नियुक्त गरेको जनाएको छ ।

जाइकाले खेलकूदको क्षेत्रमा विभिन्न देशमा सहयोग पु¥याउने हेतुले सो कार्य गरेको जाइकाद्वारा बुधबार जारी विज्ञप्तिमा उल्लेख छ । यस कार्यले जाइकाको प्राविधिक सहयोगअन्तर्गत आगामी दिनमा नेपालको फुटबलको समग्र विकासमा योगदान पुग्ने विश्वास लिइएको छ ।

“विशेषज्ञ ताकेदाको सहयोगस्वरुप एन्फामा प्राविधिक शाखाको विकास गर्दै, एन्फाको संस्थागत क्षमता वृद्घि गर्नाका साथै प्रशिक्षक शिक्षा तथा क्षमता अभिवृद्घि गरी १४ वर्षमुनिका पुरुष तथा महिलाको फुटबल टोलीलाई प्रवर्धन गर्ने र नेपालमा फुटबलको विकास गर्नु हो”, विज्ञप्तिमा उल्लेख छ ।

यसै वर्ष नेपाली फुटबल टोलीले जापानी विदेश मामिला मन्त्रालय तथा जापानी फुटबल संघको निमन्त्रणामा जापानको भ्रमण गरेको थियो । जापानी फुटबल संघले नेपाली फुटबल टोलीलाई मद्दत गर्दै आएको छ । हाल नेपालको राष्ट्रिय फुटबल टोलीको प्रमुख प्रशिक्षक कोजी ग्योतुकु कार्यरत छन् ।

एन्फाले जापान सरकारलाई जापानी फुटबल संघले प्रदान गरिरहेको सहयोग निरन्तरताका लागि आग्रह गरेको थियो । नेपाली फुटबलको क्षेत्रमा जापानी व्यवसायीको संलग्नता भएलगत्तै नेपालले एएफसी सोलिडारिटी कप–२०१६ मा जित हासिल गरेको थियो ।