खेलकुद

प्रथम सूर्योदय मेयर कप फागुन १९ गतेदेखि

मंगलबारे, इलाम । इलामको सूर्योदय नगरपालिकामा आगामी फागुन १९ देखि प्रथम सूर्योदय मेयरकप आमन्त्रण फुटबल प्रतियोगिता सञ्चालन हुने भएको छ । प्रतियोगितामा मेची अञ्चलका ११ वटा नगरपालिका टोलीको सहभागिता रहने बुधबार कार्यालयमा पत्रकार सम्मेलन गरी जानकारी गराइएको हो ।

साबिक मेची अञ्चलका सबै १४ वटै नगरपालिकालाई प्रतियोगितामा आमन्त्रण गरिएपनि ताप्लेजुङका फुङिलङ, झापाको दमक र गौरादह नगरपालिका सहभागी नहुने जानकारी प्राप्त भएको कार्यक्रममा जानकारी गराइयो ।

प्रतियोगिता सूर्योदय नगरपालिकास्थित करफोक खेलमैदानमा सञ्चालन हुने खेल आयोजक समिति संयोजक एवम् नगरपालिकाकी उपप्रमुख दुर्गादेवी भट्टराईले जानकारी दिए ।

फाइनल खेल चैत ३ गते हुने बताइएको छ । प्रतियोगिताको विजेता टोलीलाई रु एक लाख २५ हजार नगद र शिल्ड प्रदान गरिनेछ भने उपविजेताले रु ८५ हजार नगद वितरण गरिने नगरपालिकाका प्रवक्ता पेमा उगेन लामाले जानकारी दिए ।

पत्रकार सम्मेलनमा उपप्रमुख भट्टराईसहित प्रशासकीय अधिकृत राजेन्द्र भट्टराई, प्रवक्ता लामा, खेल मूल आयोजक समितिका सदस्य जयकुमार राईसमेतको सहभागिता रहेको थियो ।

प्रतियोगिता सम्पन्न गर्न रु आठ लाख २४ हजार खर्च हुने आयोजक समितिले अनुमान गरेको छ । प्रतियोगिताका सर्वोत्कृष्ट छ विधाका खेलाडीलाई शिल्ड र मेडल प्रदान गरिने बताइएको छ । प्रतियोगिताका लागि सूर्योदय नगरपालिकाले खेलाडी छनोट सम्पन्न गरिसकेको छ ।