समाचार

उपेन्द्र यादबलाई फकाउन वाम गठबन्धन र फोरमबीच बैठक बस्दै

काठमाडौँ । सरकार विस्तार र संविधान संशोधनका विषयमा सहमति जुटाउन वाम गठबन्धन र संघीय समाजवादी फोरम नेपालका नेताबीच केहिबेरमा बैठक बस्दैछ ।

प्रधानमन्त्री केपी शर्मा ओली, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल र फोरमका अध्यक्ष उपेन्द्र यादवसहित बुधबार साँझ बसेको तीन दलका शीर्ष नेताको बैठक निष्कर्षमा नपुगेपछि आज पुनः बैठक बस्न लागेको हो ।

बैठकपछि नेकपा (एमाले) का सचिव प्रदीप ज्ञवालीले फोरमसँग संविधान संशोधन गरेर सरकारमा सहभागिताबारे सहमति जुटाउनका लागि बसेको बैठक सकारात्मक रहेको र थप छलफल गर्नुपर्ने भएकाले आज बिहान ९ बजे बालुवाटारमा बैठक बसी निष्कर्षमा पुग्ने जानकारी दिएका थिए । ।
आजको बैठकले फोरमलाई समेत सरकारमा ल्याउने र शुक्रबार मन्त्री परिषद बैठक बिस्तार गर्ने तयारीमा प्रधानमन्त्री ओली रहेको बालुवाटार स्रोतले बतायो । माओबादी अध्यक्ष पुष्पकमल दहालले समेत सरकार दुईतिहाईको बन्न लागेको खुलस्त गरिसकेका छन् ।