खेलकुद

गोल्डेनगेटलाई क्रिकेट उपाधि

काठमाडौं । गोल्डेनगेट इन्टरनेसनल कलेजले क्यारेबियन कप अन्तरकलेज टि– ट्वेन्टी क्रिकेट प्रतियोगिताको उपाधि बुधबार जितेको छ ।
पुल्चोक इन्जिनिएरिङ कलेजको मैदानमा भएको फाइनलमा गोल्डेनगेटले पाटन बहुमुखी क्याम्पसलाई ६ विकेटले पराजित ग¥यो ।
पहिले ब्याटिङ गरेको पाटनले निर्धारित २० ओभरमा ५ विकेट क्षतिमा १०७ रनको योगफल खडा गरेको थियो । पाटनका सुवास धामीले ३४ तथा राजन चौधरीले ३२ रन जोडे । बलिङतर्फ गोल्डेनगेटका दिनेश अधिकारीले २ विकेट लिए ।

जवाफमा गोल्डेनगेटले १२ ओभर २ बलमा ४ विकेट गुमाएर १०८ रन जोड्दै उपाधि हात पा¥यो । गोल्डेनगेटको जितमा ‘म्यान अफ द म्याच’ जितेन्द्रसिंह ठकुरीले ५६ रन योगदान दिए । रवि शाहले १९ रन बनाए । पाटनका युवराज जोशीले २ विकेट हात पारे । उपाधिसंग गोल्डेनगेटले १ लाख नगद पुरस्कार पायो भने पाटनले ५० हजार नगदमा चित्त बुझायो ।

क्यारेबियन कलेज अफ म्यानेजमेन्टद्वारा आयोजित प्रतियोगितामा समावेश तीनै विधागत उपाधि गोल्डेनगेटका जितेन्द्रले हात पारे । जितेन्द्र ‘म्यान अफ द सिरिज’, उत्कृष्ट बलर तथा सर्वाधिक स्कोरकर्ता बने । उनले ब्याटिङतर्फ प्रतियोगिताभर २ सय ४१ रन बनाए । त्यसमा एक शतक पनि सामेल छ । बलिङमा उनले जम्मा ७ विकेट लिए । जितेन्द्रले ‘म्यान अफ द सिरिज’ का लागि १० हजार नगद पुरस्कार पाए भने बाँकी दुईका लागि समान ५–५ हजार नगद पुरस्कार प्राप्त गरे ।

विजेतालाई ललितपुर महानगरपालिकाकी उपमेयर गीता सत्याल, हिसानका अध्यक्ष एवं गोल्डेनगेटका प्रमुख कार्यकारी अधिकृत रमेश सिलवाल, क्यारेबियनका प्रमुख कार्यकारी अधिकृत डा. गणेशकुमार श्रेष्ठ र क्यारेबियनका प्रिन्सिपल चन्द्रायन श्रेष्ठले एक कार्यक्रमबीच पुरस्कृत गरे । फागुन ९ गतेदेखि सुरु नकआउट प्रतियोगितामा १६ टिम सहभागी थिए ।