आर्थिक

एक अर्ब ६६ करोड राजश्व संकलन

काठमाडौँ । जिल्ला मालपोत कार्यालय डिल्लीबजारले चालु आवको माघ मसान्तसम्ममा रु एक अर्ब ६६ करोड ३९ लाख ७८ हजार राजश्व संकलन गरेको छ ।

गत आवको सोही अवधिमा रु एक अर्ब ८५ करोड २१ लाख २५ हजार राजश्व संकलन भएको थियो । सो कार्यालयले पूँजीगत लाभकर, बागमती सुधार शुल्क, सेवा शुल्क तथा रजिष्ट्रेसन ९घर जग्गा पास० शुल्क संकलन गर्दै आएको छ ।

कार्यालयले काठमाडौँको कलंकी, मनमैजू, चाबहिल तथा साँखुबाट पनि मालपोत उठाउँदै आएको छ । मालपोत कार्यालय डिल्लीबजारका मालपोत अधिकृत केशवप्रसाद न्यौपानेले मालपोत उठाउने काम स्थानीय तह अर्थात् सम्बन्धित वडा कार्यालयबाट नै गर्ने अधिकार प्रत्यायोजन भइसकेकाले उक्त काम स्थानीय तहबाट हुने गरेको बताए ।

उनले मालपोत कार्यालयमा गएको फागुनदेखि पूर्णरुपमा अनलाइनमार्फत सेवाग्राहीलाई सेवा दिन थालिएको छ । रजिष्ट्रेशन, जग्गा नामसारी तथा अदालती मुद्दा कार्यान्वयन प्रमुख कार्य भएको उनको भनाइ छ ।

कार्यालयका प्रमुख लेखा अधिकृत कृष्णप्रसाद दाहालले कार्यालयभित्र रहेका चारवटा रजिष्ट्रेशन फाँट, दुईवटा मुद्दा फाँट, चारवटा मोठ फाँट तथा एउटा तामेली फाँटमार्फत सेवाग्राहीलाई सेवा दिँदै आएको जानकारी दिए । उनले घरजग्गाको किनमेलमा केही कमी आएको कारण गत वर्षको तुलनामा झण्डै रु २० करोड राजश्वमा कमी आएको बताए ।