पु.समाचार

सेनाद्वारा ऐतिहासिक संरचनाको पुनःनिर्माण

राइनास, लमजुङ । नेपाली सेनाले लमजुङको स्थानीय ऐतिहासिक राइनासकोटका जीर्ण संरचना पुनःनिर्माण गरेको छ । नेपाली सेनाको श्रीजङ गणको टोलीले जिल्लाको राइनास नगरपालिकाअन्तर्गत राइनासकोटमा रहेको पुरातात्विक सम्पदाबाहेकका अन्य जीर्ण संरचना पुनःनिर्माण गरेको हो ।

राइनास गढी छेउमा भत्किएका पर्खाल बनाउने, सिमेन्ट भर्ने, गढी वरपर सरसफाइ गरी फोहर व्यवस्थापन गर्नेलगायतका काम गरेको श्री जङ गणका गणपति माधव थापाले जानकारी दिए ।

जीर्ण संरचना मर्मतका लागि ३० जनाको टोली खटाइनुका साथै पुनःनिर्माणका लागि आवश्यक सामग्री पनि श्रीजङ गणले नै जुटाएको गणपति थापाले बताए ।

केही दिन अघिमात्रै नेपाली सेनाका प्रधान सेनापति राजेन्द्र क्षेत्रीले गढीको स्थलगत अवलोकन गर्दा ऐतिहासिक गढीका संरचना भत्किएको देखेपछि लमजुङस्थित श्रीजङ गणलाई मर्मतका लागि निर्देशन दिएका थिए ।

गोरखाको लिगलिगमा विजय प्राप्त गर्नुअघि राजा द्रव्यशाहको बासस्थान गढी रहेको राइनासकोटको ऐतिहासिक एवं धार्मिक महत्व छ । पछिल्लो समय राइनासमा होमस्टे शुरु भएपछि दैनिक आन्तरिक एवं बाह्य पर्यटकको आगमन हुन थालेको छ ।