राजनीति

जनतालाई सुखी र राष्ट्रलाई समृद्ध बनाउनेछौँ : साँसद आचार्य

पाल्पा । प्रदेश नं ५ का सांसद नारायणप्रसाद आचार्यले जनताका दैनिक काम सहजरुपले सम्पादन गर्नका लागि चुस्त दुरुस्त प्रशासन बनाउनेतर्फ आफ्नो पहिलो प्राथमिकता हुने बताएका छन् ।

स्थानीय प्रशासन चुस्त दुरुस्त बनाउनका लागि आवश्यकताअनुसार प्रदेशस्तरीय ऐन, कानून निर्माण गरी अघि बढ्ने उनले बताए । जवाफदेही र पारदर्शी राज्यसत्ता निर्माण गरी सुशासन सहितको राज्य निर्माण हाम्रो पहिलो प्राथमिकता रहनेछ, उनले भने ।

नेकपा (एमाले) पाल्पाका अध्यक्षसमेत रहेका आचार्यले जनताका समस्या शिक्षा, स्वास्थ्य, खानेपानी, सञ्चार, यातायात लगायतका क्षेत्रमा अपेक्षा अनुसारका काम भएका छैनन् । त्यस्ता जनताका आधारभूत आवश्यकतालाई प्राथमिकतामा राखेर आफूले काम गर्ने बताए । “जनतालाई सुखी र समृद्ध राष्ट्र निर्माण गर्नका निम्ति जिम्मेवार भएर काममा लाग्नेछौँ । सडकको पहुँचलाई विस्तार गर्दै सडकको स्तरीकरण, स्तरीय यातायातको पहुँचमा वृद्धि गर्दै अघि बढ्नेछौँ,” आचार्यले भने ।

देशमा दक्ष जनशक्ति उत्पादन गरी स्वदेशमा नै रोजगारी सम्भावना विस्तार गर्नेतर्फ आफू लाग्ने बताए । देशमा प्राकृतिक स्रोत र साधन प्रशस्त रहेपनि हालसम्म राज्यले ठीक खालको नीति अवलम्बन नगरेकै कारण धेरै नेपाली वैदेशिक रोजगारमा जानुपर्ने अवस्था छ । नेपालमा नै रोजगारीका अवस्था सिर्जना गर्नका लागि युवाको क्षमता अभिवृद्धि, सीप तथा दक्ष जनशक्तिको उत्पादन गरी देशमा रोजगारीका सम्भावना बढाउने र देशलाई समृद्ध बनाउने काममा लाग्ने बताए ।

पाल्पामा रहेका खानी प्रयोगसम्बन्धी प्रदेशस्तरीय ऐन कानून निर्माण गरी अघि बढ्ने र त्यसले स्थानीयवासीलाई फाइदा हुने बताए । पाल्पामा सञ्चालित खानीबाट सीमित व्यक्तिले मात्रा फाइदा लिइरहेको अवस्थामा खानीको नियमन प्रदेश र स्थानीय तहबाट हुने समेत उनले बताए ।

पाल्पा–बुटबल मार्गमा पर्ने सिद्धबाबा क्षेत्रको सडकले आफूहरुलाई चिन्तित र जिम्मेवार बनाएको उनले बताए । । स्थानीय सरकार, प्रदेश सरकार र केन्द्रीय सरकार मिलेर राष्ट्रिय प्राथमिकता राखेर काम शुरु हुनेछ । आगामी आर्थिक वर्षदेखि डिपिआर तयार गरी दु्रतगतिमा सिद्धबाबा क्षेत्रको सडकको काम हुने उनले बताए ।