खेलकुद

दोस्रो दक्षिण एशियाली योग खेलकुद पोखरामा

काठमाडौँ । दोस्रो दक्षिण एशियाली योग खेलकुद प्रतियोगिता नेपालमा आयोजना गरिने भएको छ । एशियाली, दक्षिण एशियाली र नेपाल योग खेलकुद संघको संयुक्त आयोजनामा २०७५ साल वैशाख २१, २२ र २३ गते प्रदेश नं ४ को राजधानी पोखरामा दोस्रो योग खेलकुद प्रतियोगिता आयोजना गर्न लागिएको हो ।

योगलाई खेलकुदसँग जोडेर यसका फाइदाका विषयमा जनचेतना जगाउने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको योग खेलकुद संघ नेपालका कोषाध्यक्ष एवम् प्रचारप्रसार समिति संयोजक मणिराज कुँवर ‘योगी शान्तिदूत’ ले राससलाई जानकारी दिनुभयो । नियमित योग अभ्यासले शरीर स्वस्थ हुने भएकाले आम मानिसलाई यसप्रति सचेत बनाउने उद्देश्य प्रतियोगिताको छ ।

प्रतियोगितामा नेपाल, भारत, बंगलादेश र पाकिस्तान गरी चार देशले सहभागिता जनाउने प्रतिबद्धता जनाइसकेका छन् । एक वर्षअघि राष्ट्रिय खेलकुद परिषद्मा दर्ता भएको नेपाल योग खेलकुद संघले गत माघ ४ र ५ गते सुनसरीको इटहरीमा पहिलो राष्ट्रिय योग खेलकुद प्रतियोगिता आयोजना गरेको थियो ।

यम, नियम, आसन, प्राणायाम, प्रत्याहार, धारणा, ध्यान र समाधिलाई योग भन्ने प्राचीन ऋषि परम्परा रहे पनि आधुनिक समाजमा शारीरिक व्यायाम विशेषलाई मात्र योगको अर्थमा बुझिने गरेको छ । आठवटै चरण योगका अंग भन्ने प्रचारप्रसार गर्न पनि प्रतियोगिता सहयोगी हुने संघले जनाएको छ ।

आठवटा चरणमा प्रवेश गरेर योग अभ्यास गर्दा व्यक्तिको आचरण र स्वभावमा परिवर्तन हुनुलाई योग भनिन्छ । योगलाई स्वास्थ्यसँग जोडेर विश्व स्वास्थ्य संगठन, संयुक्त राष्ट्र संघ लगायतका विश्वव्यापी संस्थाले मान्यता दिएकाले खेलकुदसँग जोडेर पनि प्रचार गर्न खोजिएको आयोजक समितिले जनाएको छ ।

२०७४ वैशाखमा संघले काठमाडौँमा दक्षिण एशियाली योग प्रतिस्पर्धा सम्पन्न गरेको थियो । प्रतियोगितामा दक्षिण एशियाली क्षेत्रका नेपाल, भारत, बंगलादेश र पाकिस्तान गरी चार देशको सहभागिता थियो ।

योग भगवान् शिवले शुरु गर्नुभएको वैदिक मान्यता छ । भगवान् शिवले पहिलोपटक पत्नी पार्वतीलाई योग शिक्षा दिनुभएको शिवपुराण एवम् धर्मशास्त्रका अन्य ग्रन्थमा उल्लेख गरिएको छ । विश्वमा ३०० योगका प्रकार प्रचलनमा रहे पनि घेरण्ड ऋषिले ३२ वटालाई बढी प्रचलनमा ल्याएको विश्वास गरिन्छ । शिवबाट पार्वती हुँदै आम मानिसमा योग विकसित हुँदै आएको मानिएको छ ।