पर्यटन/संस्कृति

तीर्थयात्री निवास भवन बनाउन रु पचास लाख

बाबियाचौर, म्याग्दी । म्याग्दीको बेनी नगरपालिका–९ स्थित प्रसिद्ध धार्मिकस्थल गलेश्वरमा तीर्थयात्री निवास भवन निर्माणका लागि एक व्यवसायीले रु ५० लाख सहयोग गरेका छन् ।

काठमाडौँको होटल ¥याडिसनका सञ्चालक गोविन्ददास श्रेष्ठद्वारा स्थापित गोविन्द सरस्वती फाउण्डेशनको रु ५० लाख सहयोगमा गलेश्वरमा तीर्थयात्री निवास भवन निर्माण हुन लागेको छ । गलेश्वर शिवालय क्षेत्र विकास कोषले निर्माण गर्न लागेको दुईतले, छकोठे र सयजना क्षमताको भवनको मंगलबार श्रेष्ठ र उनकी श्रीमती सरस्वतीलगायत परिवारका सदस्यहरुले संयुक्त रुपमा शिलन्यास गरे ।

जनताबाट कमाएको पैसा जनताकै सेवामा लगाउन तीर्थयात्री निवास भवन निर्माणका लागि सहयोग गरेको बताउँदै श्रेष्ठले अरू व्यवसायीलाई पनि आम्दानीको केही हिस्सा सामाजिक क्षेत्रमा लगाउन आग्रह गरे । हिन्दू तथा बौद्ध धर्मावलम्बीको साझा तीर्थस्थल मुक्तिनाथ प्रवेशद्वारका रुपमा रहेको गलेश्वरमा तीर्थयात्री र भक्तजनको चाप बढेकाले धर्मशाला निर्माण गर्न लागिएको कोषका अध्यक्ष रुद्रबहादुर केसीले बताए । उनका अनुसार नयाँ धर्मशाला बनेपछि गलेश्वरमा दैनिक पाँचसयजना तीर्थयात्री बास बस्न सक्नेछन् ।

हाल चारसयजना बास बस्न सक्ने धर्मशाला रहेको गलेश्वरमा तीर्थयात्रीलाई निःशुल्क भोजनको व्यवस्था मिलाइएको छ । गलेश्वरमा पूर्वाधार विकासमा श्रेष्ठले व्यक्तिगत रुपमा हालसम्मकै बढी सहयोग गरेको कोषका सदस्य सचिव माधवप्रसाद रेग्मीले बताए ।

कालीगण्डकी नदी किनारमा रहेको नौ रोपनी क्षेत्रफलमा फैलिएको ढुंगामाथि अवस्थित गलेश्वरमा भक्तजनले चढाउने भेटी, दाता र सरकारी निकायको नौ करोडको लगानीमा सत्संग भवन, ज्येष्ठ नागरिक आश्रम, पुजारी निवास, सामुदायिक स्वास्थ्य इकाई, पदमार्ग, शिवलिंग, क्याम्पिङ साइट, बालउद्यान, तीर्थयात्री निवास, मन्दिर निर्माण तथा मूर्ति स्थापना गरिएको छ ।

कालीगण्डकीको पानी लिफ्ट गरेर गलेश्वर परिसरमा १०८ धारा र गलेश्वरदेखि राममन्दिर जोड्ने कालीगण्डकी नदीमाथि झोलुङ्गे पुल निर्माणको तयारी पनि भएको छ ।