राजनीति

काँग्रेस संसदीय दलको निर्वाचन फागुन २१ मा

काठमाडौँ । नेपाली काँग्रेस संसदीय दल निर्वाचन समितिको बैठकले संसदीय दलको नेता चयनका लागि यही फागुन २१ गते निर्वाचन गर्ने तयारी गरेको छ ।

सिंहदरबारस्थित काँग्रेस संसदीय दलको कार्यालयमा आज बसेको समितिको बैठकले २१ गते अपराह्न ४ बजे संघीय संसद्को बैठक बस्नुभन्दा अगाडि संसदीय दलको निर्वाचन गर्ने तयारी गरेको काँग्रेसका नेता तथा समितिका संयोजक चीनकाजी श्रेष्ठले जानकारी दिए ।

समितिले संसदीय दलको नेता चयनका लागि औपचारिक रुपमा १८ गते निर्वाचन कार्यतालिका प्रकाशन गर्ने र २० गते उम्मेदवारी दर्ता गरी २१ गते निर्वाचन गर्ने तयारी गरेको छ ।

समितिको संयोजकमा श्रेष्ठ तथा सदस्यमा केन्द्रीय सदस्य नवीन्द्रराज जोशी र भीष्मराज आङ्दम्वे छन् । आजको बैठकले समितिका सदस्यसचिवमा केशव रिजाललाई राख्ने तय गरेको छ । दलको नेताका लागि सभापति शेरबहादुर देउवा, पूर्वमहामन्त्री प्रकाशमान सिंहको नाम बाहिर आएको छ ।